Nic Ad Nic Ad
Nic Ad Nic Ad

सगरमाथा संवादमा साढे ३ सयलाई निम्तो

आइतबार, चैत ३, २०८१

काठमाडौँ- ‘सगरमाथा संवाद’ मा विश्वका विभिन्न देशका ३ सय ५० जनाभन्दा बढीलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन करिब दुई महिना बढीको समय बाँकी रहँदा आइतबार सगरमाथा संवादबारे जानकारी गराइएको हो ।

samridhi jewllers

आगामी वर्ष २०८२ को जेठ २-४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम हुँदैछ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न देशका ३ सय ५० भन्दा बढीलाई निम्तो पठाइने जानकारी गराएका छन् ।

सरकारले निम्तो पठाइएकामध्ये डेढ सय भन्दा बढी व्यक्ति सहभागी हुने अपेक्षा गरिएको उनले बताए । निम्तो दिनका लागि विदेशस्थित नेपाली राजदूतावास र नेपालमा रहेका सम्बन्धित मुलुकका राजदूतावासलाई प्रयोग गरिएको उनले बताए ।

‘साढे ३ सय जनाको हाम्रो आकलन छ, नेपाली र विदेशीहरू गरेर । १५० देखि १७५ जनासम्मले उपस्थिति जनाउने विश्वास छ,’ पत्रकार सम्मेलनमा राईले भने ।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमालको मुद्दाको नेतृत्व नेपालले लिने गरी सगरमाथा संवादलाई अघि बढाएको बताए ।

जलवायु परिवर्तनबाट भएको हानी तथा नोक्सानीबारे आवाज उठाइरहेको पनि बताए । वातावरण विनाशको क्षयीकरण नेपालले भोगिरहेको र यसबाट बच्नका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत आवाज उठाइरहेको भन्दै सगरमाथा संवादलाई प्रभावकारी बनाउने गरी सरकार अघि बढिरहेको उनको भनाइ थियो ।

‘यो वास्तवमा हामीले नेतृत्व गर्नै खोजेको हो । लस एण्ड ड्यामेज र आफ्नो अधिकार जुन हामीले वातावरण विनाशको क्षयीकरण भोगिरहेका छौँ, यसबाट बच्नका लागि अन्तर्राष्ट्रिय मञ्चमा भनेका छौँ,’ उनले भने ।

यस वर्षको सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा राखिएको उनले जानकारी दिए । भविष्यमा मुद्दा आवश्यकताअनुसार परिवर्तन गर्दै लैजाने पनि मुख्यसचिव अर्यालले बताए ।

‘नीति तथा कार्यक्रममा पनि फोकसका साथ यसलाई अगाडि बढाउनेछौँ । हामी बढी प्रभावित भएको हुनाले यो एजेण्डा हामीले समातेर अघि बढ्नुपर्छ भन्ने हिसाबले हामीले लिएका छौँ । यस वर्ष हामीले क्लाइमेट चेन्जको इस्यु लियौँ । अर्को वर्ष अरु अरु थिममा हामी जानेछौँ,’ उनले भने ।

मुख्यसचिव अर्यालले सगरमाथा संवादलाई सरकारले उच्च महत्वका साथ अघि बढाएको जानकारी गराए ।

सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षणका विषयमा तत्काल गर्नुपर्ने कामबारे छलफल हुनेछ । पहिलो दिन नै टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्नेबारे संवाद हुनेछ ।

खाद्य सुरक्षा तथा कृषि पुनरोत्थान, पहाडी क्षेत्रमा समुदायद्वारा प्रवर्द्धन गरिने क्रियाकलापबारे पनि छलफल गरिनेछ । सगरमाथा संवादको दोस्रो दिन जलवायुजन्य प्रकोप: जोखिम न्यूनीकरण र पुनरुत्थानबारे छलफल हुनेछ ।

हिमालको जोखिमका लागि भएका अनुगमन र यसको उपलब्धि, हिमालमा भएका क्षतिलाई न्यूनीकरण गर्दा भएका प्रयासबारे छलफल हुने जानकारी गराइएको छ ।

सगरमाथा संवादको तेस्रो दिन संवादमा सहभागी हुन आएका पाहुनालाई हवाई फ्लाइटमार्फत सगरमाथा क्षेत्र अवलोकन गर्न लगिने कार्यक्रम रहेको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार