बिराटनगर कोइराला निवास पुगियो, अनि बन्यो ‘एन्कर न्यूज’
मैले जीवनमा पहिलो पटक पत्रकारहरूको भनाई राखेर समाचार बनाएँ।
यो मलाई नाइट डेक्स इञ्चार्जको आइडियासहितको सल्लाह थियो। म मोहन ढुङ्गेल दाईलाई सम्झन्छु, यहाँ।
अहिले त उहाँ पत्रकारिताभन्दा अलिक पर अर्कै जागिरमा हुनुहुन्छ क्यारे। तर, एङ्गल दिनका लागि माहिर अनि सहकर्मीप्रति उत्तिनै उदार भाव राख्ने।
राजधानी दैनिकमा दिनहुँजसो प्रथम पृष्ठमा समाचार प्रकाशित हुन्थ्यो–मेरो बाईलाइनसहित।
मोफसलको एउटा रिपोर्टरका लागि यो निक्कै गर्विलो कथा हुन्थ्यो। किनभने राष्ट्रिय दैनिकका भित्री पृष्ठमा समाचार पर्नु पनि निक्कै महँगो साबित हुन्थ्यो।
मेरो यस दिन भने एन्कर न्यूज छापियो। दैनिक पत्रिका र खासगरी राजधानी दैनिकमा एन्कर न्यूजको एउटा स्टाइल थियो।
पहिलो पृष्ठको कुनामा चार वा ५ कोलम लामो समाचार राखिन्थ्यो अनि हेडलाइन रंगिन कलेबरमा इटालिक बनाइने गरिन्थ्यो।
‘अस्ताए मोफसलका ब्रेकिङ न्यूज’ यहि शीर्षक थियो।
यो शीर्षकतिर फर्किनुअघि बिराटनगरको कोइराला निवासतिर छिरौं। अहिले कस्तो होला थाहा छैन।
तर, त्यसबेला कोइराला निवासको रौनक र चार्म नै फरक थियो।
‘कोइराला निवास सम्भवतः म चार पटक पुगेको थिएँ।’
कोइराला निवासका दुई तीन रोचक पक्ष छन्। जिल्लामा बसेर पत्रकारिता गरेकाहरू अनुभवी छन् यसमा।
कोइराला निवास पहिलो पटक पुग्दा गिरिजाबाबु बोल्न मान्नुभएन। अक्सर उहाँको त्यो बानी थियो।
मलाई उतिसाह्रो चिन्नुहुन्नथ्यो तर बिराटनगरका पत्रकारलाई भने मज्जैले चिन्नुहुन्थ्यो।
नोना कोइरालालाई भनेर बल्ल बल्ल भोलीपल्टका लागि समाचार संकलनमा आउन भनियो।
भोलीपल्ट मम खाँदै पत्रकार सम्मेलन भयो। गिरिजाबाबु पत्रकार सम्मेलनमा भयानक उत्तर दिने पुरुष पनि थिएनन्।
उनी मजाक गर्ने शैलीका पनि थिए।
तर उनमा गाम्भिर्यता थियो तीन चीजको। नछुटाई भन्ने,‘सहमति, सहकार्य र एकता।’
यसमा अविछिन्न गिरिजाबाबुले जोड्ने शव्द हो,‘फ्रिडम अफ प्रेस।’
कोइराला निवास दोस्रो पटक पुग्दा मधेस आन्दोलन चर्किरहेको थियो। र, गिरिजाबाबुले भन्नुभयो,‘यो हिन्दूस्तानसँग कुरा गरिन्छ।’
महन्थ ठाकुरहरू भर्खरै तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरी कांग्रेसबाट छुटिएका थिए।
त्यसक्रममा पत्रकारको भिँडमा मैले गिरिजाबाबुलाई सोधें,‘६० बर्षदेखिको राजनीतिक जीवनको सहकार्य छाडेर महन्थ ठाकुरहरू अलग हुँदा कस्तो लाग्छ?’
गिरिजाबाबुको सरल उत्तर थियो,‘किन जानुभयो थाहा छैन। तर, उहाँ फर्केर आउनुहुन्छ।’
म काठमाडौं आएर कतिपय कुरा मिलाएर बिराटनगर पुगेको थिएँ।
त्यस दिन सन्नाटा थियो। गिरिजा प्रसाद कोइरालाको निधन मिति २०६६ चैत्र ७ गते शनिबार ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो।
काठमाडौंका लागि यो बिग न्यूज थियो। हाम्रा लागि भने निक्कै दुर्लभ व्यक्तिको निधन।
चिकित्सकहरूको अनुसार उनको निधन १२ बजेर १० मिनेटमा भएको थियो।ृ
उनको दाहासंस्कार चैत्र ८ गते पशुपतिनाथ मन्दिर नजिक आर्यघाटमा हिन्दू परम्परा अनुसार गरिएको थियो।
उनको निधनको खबर पाएपछि धेरै राजनीतिज्ञहरूले शोकको बयान जारी गरेका थिए।
भारतीय पत्रिका द हिन्दूले उनलाई ‘राष्ट्रिय अभिभावक’ भनेर वर्णन गरेको थियो।
तात्कालिक भारतीय प्रधानमन्त्री मनमोहन सिंहले शोक व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेका थिए।
संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मूनले, कोइराला निडर भई आफ्नो देशको न्याय र प्रजातान्त्रिक अधिकारको लागि पर्याप्त व्यक्तिगत त्यागमा लडेको बताएका थिए।
हाम्रो पत्रिकामा एउटा समस्या थियो। पत्रिकाको धारणा नै सम्पादकको धारणा हुने थियो। तर यस विषयले पनि न्यूज डेस्कमा केही मन्थन भएछन्, पछि थाहा भयो।
सम्पादक युवराज घिमिरे मुर्धन्य व्यक्तित्व भए पनि कोइरालाको विवादीत राजनीतिक गतिविधिका साक्षी भएर कि के हो? हाम्रामा शिखर पुरुष भन्ने शव्दले स्थान पाएन।
पछि प्रमुख संवाददाता विनय देवकोटा, मोहन दाईलगायतका वर्णन सुनेर थाहा पाइयो, किन त्यसो भनिएन।
तर, बिराटनगरमा पुगेका बेला मोहन दाईले दिनुभयो हेडलाइन– अस्थाए ब्रेकिङ न्यूज।
बास्तवमा बिराटनगरलाई केन्द्रविन्दु पारेर पत्रकारिताका बाइलाइन छाप्नेहरूका निम्ति ब्रेकिङ न्यूज अस्ताएका थिए। चाहे बेबी किङको कुरा होस् या माओवादीलाई जहाँबाट ल्याएको त्यहाँ छाडिदिन्छु भन्ने खालका भाषा गिरिजाबाबुले बिराटनगरमा मात्रै बोलेका थिए।
चाहे महन्थसँगको छुट्टिँदाको राजनीतिक विषय होस् या नोना कोइरालाको निधनपछिको उदासिनता गिरिजाबाबुका निम्ति बिराटनगर स्मरणयोग्य थियो, सम्भवतः।