Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी 

कार्यकालको बीचैमा झन्डै पदच्युत गरिएका आईजी बसन्त कुँवर, कसको स्वार्थ थियो?

सोमबार, चैत ४, २०८१

काठमाडौं– दुई बर्षसम्म प्रहरी संगठनको नेतृत्व सम्हालेका महानिरिक्षक (आईजी) बसन्त कुँवर सोमबार रातीदेखि ३० बर्षे सेवा अवधि सकेर निवृत्त जीवनमा फर्किने निश्चित भएको छ।

samridhi jewllers

डीआईजी रहँदा मधेस प्रदेश नेतृत्व, एआईजी भएको दुई दिनमा नै आईजी बनेका कुँवर नेपाल प्रहरीका भाग्यमानी अधिकारी थिए। 

उनको ‘स्कुलिङ’ र विश्वासचाहिँ नेपाल प्रहरीका ल्यामलाइटमा आउन नचाहेका तर प्रहरी कर्मलाई बलियो बनाएका पूर्वआईजी शैलेश थापा क्षत्रीबाट भएका कारण पनि साना तिना राजनीतिक खिचातानीका विवादबाहेकमा परेनन्। 

तर उनलाई उपयोग गर्नका लागि राजनीतिक दलका व्यक्ति र फेरिका सरकारका गृहमन्त्रीहरु सक्रिय भने रहेका थिए। 

खासगरी सहकारी ठगी प्रकरणमा मुछिएका तत्कालिन गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेका विषयमा संसदको राज्य व्यवस्था समितिमा दिएको कुँवरको ‘बयान’ विवादीत बन्यो। 

तर, गृहमन्त्रीको आदेशका कारण एक कर्तव्यनिष्ठ प्रहरी अधिकारीको बयानलाई सरकार परिवर्तन हुनासाथ रिभर्समा तान्दै सहकारी ठगी प्रकरणको छानबिन गराएर कुँवरले गति बढाए। 

कुँवर दुईथरी स्वार्थको शिकार बन्ने घटनाक्रम तय भैसकेको थियो। 

सुन तस्करी प्रकरणको छानबिन र भुटानी शरणार्थी प्रकरणमा मुछेर तत्कालिन गृहमन्त्री लामिछानेले झन्डै उनको पदच्युत गरेका थिए। 

यसमा उनका समकक्षी, सहकर्मी रहेका पूर्वएआईजी श्यामलाल ज्ञवालीको आईजी बन्ने महत्वकांक्षाले पनि काम गरेको चर्चा चलेको थियो। 

यस्तो संकेत देखिनुको अर्को कारणचाहिँ लामिछाने गृहमन्त्री भएका बेला विवादमा रहँदारहँदै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखमा ज्ञवालीको सरुवा थियो।

अस्थिर सरकारका कारण सुरक्षा अंगलाई प्रभावित बनाउने काम भयो। यसको भार आईजी कुँवरले खेप्नु परेको थियो। 

सुन तस्करी छानबिन समितिको प्रतिवेदनका नाममा प्रहरीलाई विवादमा तान्ने प्रयत्न भयो। यति मात्र भएन, आफ्नालाई आईजी बनाउनका निम्ति कुँवरलाई विवादमा तान्ने प्रयत्न गरिएको थियो।

सदनमा सांसद र बिरोधीले आईजी कुँवरलाई राजनीतिक विवादको चर्चामा तान्ने प्रयत्न नगरेका होइनन्। तर, ति सबै प्रकरण छिचोल्दै कुँवरले कार्यकाल सकाए।

नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप चरम रुपमा हुने गरेको छ। त्यसलाई कतिसम्म थाम्ने भन्ने विषयमा कुँवर आफैं दबाबमा पर्नुबाहेक संगठनभित्र बढुवा र सरुवाका विषयमा पनि विवादीत नबनेका होइनन्। 

तर, उनीनिकटस्थ स्रोतले भन्यो,‘राजनीतिक दबाबबीच प्रहरीका प्रमुखले सबैलाई छिचोलेर काम गर्न सक्ने अवस्था बनाउन अझ कठिन स्थिति छ।’

जे भए पनि युवा अवस्थामा नेपाल प्रहरीको सेवामा अर्पित भएर जीवनका उर्वर समय युद्ध, शान्ति र सामाजिक अपराध नियन्त्रण, नियमन र कानुन कार्यान्वयनमा कुँवरको भूमिका कुशल थियो भन्ने उनको तीन दशकको जागिरे जीवनले पुष्टि गर्छ। 

सकभर उनले आफूसँगै भर्ती भएका ब्याचीलाई विशेष पदमा बढुवा गरी नैतिक न्याय दिलाउने प्रयत्न गरेका थिए। यसका निम्ति दुई दिन, एक साता वा दुई साताका लागि एआईजी बढुवा गरेको भनी आलोचना पनि खेपे। तर, ति आलोचनाभित्र सहकर्मीको सेवा निवृत्त जीवनको विशेष समयलाई ध्यानमा राखेको देखिन्छ। 

उनको कार्यकालमा नै प्रहरी ऐन बनी सदनमा पेश भयो। यो कार्यान्वयनमा जान केही समय लाग्न सक्छ। तर, यसलाई उनको सफलताको कसीका रुपमा नै टिप्पणी गर्नु उपयुक्त र न्यायीक हुन्छ।

आगामी जीवन सुखद रहोस्, आईजी कुँवरलाई शुभकामना!
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्