त्यसपछि कोइरालाले भनेछन्– फुरफुर नगर्नुस् प्रचण्डजी, त्यहिँ लगेर छाड्दिन्छु फेरि
यसबेला धारे हात लगाएर प्रचण्डलाई गाली गरिरहेको भेटिन्छन्, गोपाल किराँती।
यीनको पनि गज्जबका किस्सा छन्। यी यस्ता आतंकको नेतृत्व गर्ने नेता थिए कि समयले यीनलाई किनारामा ल्याएर छाडिदियो।
मन्त्री हुँदै मातृका यादवहरूले सीडीओलाई थुनेको, करिमा बेगमले थप्पड हानेको घटना त शाही कालभन्दा पनि भयानक थियो नि।
शाहीकालमा त सगरमाथा अञ्चलाधिश रामकुमार सुब्बाले सुनसरीका सीडिओलाई झापू हानेका थिए।
कान्तिपुरले खेद्नुसम्म खेद्यो। बेदराज पौडेललाई त्यो रिले समाचार बनिरहेको थियो।
जसलाई हाम्रो भाषामा फलोअप भनिन्छ।
कुरो गोपाल किराँतीकै गरौं न। यो रुम मिलाऊँ न ल! भने जस्तो होइन।
किराँतीले सोलुखुम्बुतिरको नेतृत्व र मोर्चा सम्हाल्थे। माओवादी र त्यसमा पनि अर्ध सैनिक बल भनिने योङ कम्युनिस्ट लिग (वाईसीएल)को कम आतंक थिएन।
त्यसको नेतृत्व गरेर गोपाल किराँतीकै ताँतीले झापाको विर्तामोडमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामाथि कालो झन्डा देखायो।
एसियामा नै नेता गनिएका गिरिजाबाबुलाई कालो झन्डा देखाएपछि प्रहरीका डन्डा किन रोकिन्थे र!
माओवादीका वाईसीएल भन्नेका ढाड त प्रहरीले नराम्रोसँग सेकाएको मात्र थिएन पक्राउ समेत गरेर गाडीमा हुल्यो।
तर, यो कुरो गिरिजाबाबुले देखेछन्। उनले प्रहरीका अधिकारीलाई भने,‘छाडिदेऊ! छाडिदेऊ! म लोकतन्त्रको लागि जुत्ता खाएको मानिस हो, कालो झन्डा त देखाएको हो नि!’
गिरिजाबाबुका अनेक किस्सा सुनिन्थ्यो। कुनै बैठकमा प्रचण्डले खै कुन्नी के झ्वाँक चलाए गिरिजाबाबुको? हामीमाझ खबर आयो– उहाँले त जहाँबाट ल्याएको त्यहिँ छाड्दिन्छु भन्नुभयो।
खैर, यो अलग पाटो छ।
किराँतीको उग्रताको पराकाष्ट यत्तिमा सीमित हुँदैन। ति किराँतीले तत्कालिने नेपालका लागि अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीलाई पनि सार्वजनिक कार्यक्रममा हाथापाई गर्ने कोशिश गरेका थिए।
मोरियार्टी फेरि उस्तै भयानक राजदूत, उग्रसँगै छुद्र पनि थिए। उनी हुन्जेल माओवादी अमेरिकाको आतंकवादी सूचीबाट हटेन।
किराँतीका कथा यत्तिमा सकिन्न। फेरि नेपालका लागि भारतीय राजदूत राकेश सूदमाथिको अर्को कथा छ। सूद उत्तरतिर लम्किनका लागि सोलुखुम्बु पुगेका रहेछन्। किराँतीको टोलीले जुत्ता नै हानेछ।
त्यो आवेगमा रहेका सूदले अहिलेसम्म माओवादीलाई हेर्ने नजरिया गतिलो नबनेको हुन सक्छ।
किराँती अचेल प्रचण्डसँग आक्रोशित छन्। किनारामा राखिएका थिए, उता धकेलिदिएपछि उनको उग्रताले पनि मेसो पाएन। कुनै बेला प्रचण्डले उनलाई संस्कृतिमन्त्री बनाएका थिए।
यो वाईसीएलको जगजगीलाई तह लगाउनका लागि कांग्रेसमा तत्कालिन मन्त्री खुमबहादुर खड्का, विद्यार्थी नेता भिमसिंह गुरुङलगायतले एक बखत लडेका पनि इतिहास छ।
भिमसिंह दाईसित भेट हुँदा यो कथा सुनेकै हो। खुमबहादुरले अस्पतालमा पुगेर भनेछन्,‘वाईसीएललाई ठोक्नु पर्दैन? म भएको के काम लाग्यो?’
यसभित्रका अनेक कथा होलान्। तर, वाईसीएलको दादागिरीको प्रतिरोधचाहिँ केपी शर्मा ओली इन्चार्ज रहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघले गरेको हो।
मलाई स्मरण छ, त्यसबेला युथ फोर्स गठन भयो। यो हुन्न थियो होला तर वाईसीएलले प्ररायु संघका नेतालाई बुटवलमा गोली ठोकेर मारिदियो। अनि, एमाले चुप लागेर किन बस्थ्यो र?
महेश बस्नेतलाई इञ्चार्ज बनाएर भएभरका गुन्डागर्दीमा सक्रिय रहेकादेखि अनेकलाई संगठनमा ल्यायो। यत्तिसम्म थाहा छ कि ब्राउन सुगरको एउटा समाचार लेख्दा मिठो भाषामा मिलन चक्रेका नजिक मानिने बसन्त गुरुङले नै मलाई फोन गरेका थिए।
पत्रकारिता राजनीतिसँग सँधै समानान्तर हुनुको अर्थ नै यहि त रहेछ। लोकतन्त्रका लागि लडियो, यसभित्रको फोहोर सभा गर्ने तन्त्र कहिले आउला?