Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रेस चौतारी नेपाल आसन्न महाधिवेशन

प्रदीप नेपालले सदस्य बनाउनुभयो अनि त्यहि बर्ष बुटवलतिर मोडियौं

पार्टीले जनवर्गीय संगठनमा कायम गरेको प्रेस चौतारीमा सबै अटाउन सक्लान्? हामी मजदुर र विचार पैरवीको एक पाखोमा लाग्नेहरूको स्पेश खै? भनेर प्रश्न उठ्यो भने, त्यसको उत्तर के होला? 
सोमबार, चैत ४, २०८१

बिराटनगरमा प्रेस चौतारी नेपालको आसन्न १०औं महाधिवेशनको मिति तोकिएको छ।

samridhi jewllers

चैत १० देखि ११ मा सम्पन्न गर्नेगरी तयारी भएको छ। देशमा राजनीतिक अराजकता र आलोचनाबीच प्रेस चौतारी नेपालको सदस्य, केन्द्रीय सदस्य भएको विषयलाई गौण राख्नु मनासिब छैन।

मैले बारम्बार भनेको छु– म मदन भण्डारीको विचारसँग अभिप्रेरित राजनीतिक प्राणी हो। मभित्र राजनीतिक चेत छ। मभित्र पत्रकारिताको प्रेत त उहिल्यैदेखिको हो।

तर, आसन्न महाधिवेशनको नजिकमा बिहान रत्नप्रसाद आचार्य (धरानमा बसी पत्रकारितामा सक्रिय) दाईसँग फोन भयो। 

यीनको प्रसङ्ग बुटवल महाधिवेशनमा गज्जबको छ।

पहिला म कसरी सदस्य भएँ, त्यस विषयलाई स्मरण गर्छु।

प्रेस चौतारीका नेतालाई हेर्छु, यसो। दायाँ कोल्टेर हेर्छु, बायाँ फर्किएर हेर्छु। त्यहाँ विचारको अभिष्ट शेषमा देखिन्छ।

नजान्दा नजान्दै प्रेस चौतारीको सदस्य भएको होइन। जानेर भएको हो। तर जिल्ला समिति सुनसरीबाटै मप्रति सदैव अन्याय भयो तर मैले अवसरवादी कित्ता कहिल्यै पनि रोजिन। 

प्रदीप नेपाल प्रचार विभागको सदस्य हुनुहुन्थ्यो। उहाँको प्रमुख आतिथ्यमा धरानमा जिल्ला अधिवेशन मात्र होइन, सदस्यता वितरण गर्नुपर्ने थियो। 

मेरो स्मरणमा छ– प्रदीप नेपाल जो वैचारिक रुपमा स्पष्ट पात्र हुन्। अहिले बिरामले थलिएका छन्। उनले मेरो सदस्यता बनाइदिएका हुन्, यो पनि ०६३ या ०६४ को साल हो।

एउटा विचारसँग मतभेद अनेक पटक हुन्छन्। तर त्यसबाट च्युत भएर अन्यत्र बरालिनु भनेको विचारको लिक छाड्नु नै हो। अवसरको खोजी होइन, तिव्र महत्वकांक्षी बन्नु हो। 

त्यसबेला जिल्ला समिति सदस्यका रुपमा रहन पुगियो। कमिटीमा रहेका सबैको नाम याद छ तर यत्तिबेला लेखिदिनु बाञ्छनिय हुनेछैन।

नेपाल पत्रकार महासंघ सुनसरी शाखाको चुनावमा सहभागी हुन कतिपय कमिटीका मानिस लागेका थिए। मलाई आश्वासन थियो कि अरु महासंघतिर गएपछि विशेष अधिवेशनमा पदाधिकारीमा ल्याइनेछ।

त्यसो भएन। मैले जिल्ला कमिटीमा नरहने घोषणा गरेको थिएँ। तर, मैले के भनेको थिइँन भने अर्को दलको विचारसँग नजिक भएर काम गर्छु। 

प्रयत्न नभएका होइनन्। म, आफैं बामपन्थी विचारधारा भएको र रापतापसहित आएको माओवादीको क्रान्तिकारी पत्रकार संघ, हाल प्रेस सेन्टर नेपालको सुनसरी कमिटीमा पदाधिकारीको जिम्मेवारीमा नै रहने आश्वासनमा थिएँ। 

तर, मलाई अधिवेशनको तरिका मन परेन। मैले बहुदलीय जनवाद भनेको बहुविचारीय प्रतिस्पर्धा पनि मान्छु। क्रान्तिकारीको अधिवेशनमा हाल माओवादी प्रदेश उपाध्यक्ष रहनुभएका मेरा अत्यन्त नजिकका आदरणीय दाई शिव डाँगीले अविर लगाएर कमिटीमा राख्ने कोशिश गर्नुभयो। 

मैले त्यसो गर्न मानिन। मैले बरु सोधें,‘यसरी नै हुन्छ अधिवेशन?’

मलाई पत्रकारितामा सहयोग गर्ने एमालेको विचारमा आवद्ध भिम ज्वाला राईलगायतका दाईहरु क्रान्तिकारी पत्रकार संघमा छिर्छ कि भन्ने त्रासदीमा हुनुहुँदो रहेछ। 

बरु, एमालेको विचारलाई तिलान्जली दिएर केशव घिमिरेलगायतका दाईहरुलाई इटहरीमा आयोजित कार्यक्रममा ओम शर्माहरुले भित्राए तर मैले त्यहाँ पनि जान मानिन।

नमान्नुका कारण, अवसर होइन। विचारप्रतिको लगन थियो। अहिले पनि मेरो त्यो लगन कायम छ। 

अब अलिकति पछाडि फर्किऔं। 

चौतारीको बुटवल महाधिवेशन भयानक भएको थियो। प्रमोद दाहाल, विष्णु रिजाल, गणेश बस्नेत, गगन विष्ट सबैको नाम त्यहिँ सुनेको र देखेको हो। 

मलाई स्मरण छ– त्यस महाधिवेशनमा अध्यक्षका दाबेदार गणेश बस्नेतले छाड्नुभयो र गगन विष्ट निर्वाचित हुनुभयो। 

विष्णु रिजाल महासचिवमा निर्वाचित हुनुभयो। 

कोशीको केन्द्रीय सदस्य लडेका आचार्य दाई दुई मतले पराजित भए। एकछिनसम्म चियाको चुस्कीमा रमाएका आचार्य दाईले झन्डै मान्छे पिटिदिए। 

त्यहि अधिवेशनले टिका विष्टलाई निर्वाचित गरेको थियो। त्यसबेला विष्टको चर्चा चौतारीमाझ ब्यापक थियो। रुकुमको कुनै प्रकरणमा उनी चर्चामा थिइन्।

राजनीति वा विचार पैरवी जहिले पनि ग्रे कलरमा रहन्छ। 

अब आजको अवस्थालाई व्याख्या गरौं। प्रेस चौतारी नेपालका कतिपय साथीहरु नेकपा विभाजनसँगै विभाजित भए। प्रतिनिधि सभा विघटनको निर्णयमा बिरोधमा नै उत्रिए। 

केपी शर्मा ओलीको उक्त कदमको कदाचित समर्थन गरेर मौनताका हिसाबले लेखन पैरवी मैले गरें। र, त्यहि बेला मेरो तर्क थियो,‘संविधानमा प्रधानमन्त्रीसँग दुई वटा अधिकार सुरक्षित राखिनुपर्छ। सेना परिचालन र सदन विघटन।’

यसमा आफ्नै दलील पनि छन्। अब, फर्किएर विचारमा घुलित हुन आएका साथीहरुसहित केन्द्रीय कमिटीको संख्या कति ठूलो होला? 

पार्टीले जनवर्गीय संगठनमा कायम गरेको प्रेस चौतारीमा सबै अटाउन सक्लान्? हामी मजदुर र विचार पैरवीको एक पाखोमा लाग्नेहरूको स्पेश खै? भनेर प्रश्न उठ्यो भने, त्यसको उत्तर के होला? 

यो प्रश्नमा घोत्लिनुपर्ने आवश्यक छ। यसर्थ, यस विषयमा थप विचार विमर्शलाई घनिभूत बनाइनुपर्छ।

क्रमशः
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्