राजा-महाराजा अन्तर्राष्ट्रिय वेश्यालय धाएर देशको बेइज्जत गर्ने गरेको प्रचण्डको आक्षेप
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राजावादीहरूले गरिरहेको गतिविधि संविधान विपरीत भएको दाबी गरेका छन् ।
राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई फेरि रैती बनाउने र अधिकार खोस्नेतर्फ केन्द्रित रहेको बताएका छन् ।
उनले युवाहरूलाई हिजो के भएको थियो भन्ने कुरा राम्रोसँग बुझाउनुपर्ने बताए ।
‘प्रचण्ड’ले भने, ‘कोत पर्व के थियो ? भण्डारखाल क-कसको झगडाले भएको हो ? त्यहाँ सयौँ भारदारहरूको कत्लेआम कसरी गरिएको थियो ? नेपालको नक्सालाई संकुचित बनाउने काम दरबारिया राजाहरूले कसरी गरेका थिए ? विदेशीको चाकडी कसरी गरेका थिए ? हिजोका राजा र महाराजाहरू अन्तर्राष्ट्रिय रूपमा वेश्यालयमा गएर नेपालको बेइज्जत कत्ति धेरै गराएका थिए ? यही अस्ति भर्खरै कलकत्तामा बेइज्जत गरेर जवहारलाल नेहरुले त तिमीहरूको राजाले त बेइज्जत नै गर्यो, छिटो फर्काउ भन्नपर्ने, त्यो स्तरको कसले गरेको थियो ? नमिता-सुमिता हत्याकाण्ड के थियो ? दरबार हत्याकाण्ड कसले कसरी गरेको हो ? यो युवाहरूलाई बुझाउनुपर्छ ।’
उनले मौलिक अधिकार र सामान्य प्रेस स्वतन्त्रता पनि हरण गरेर जेल, नेल र हत्या कसरी हुने गरेको थियो भन्ने कुरा युवाहरूलाई थाहा नभएकाले बुझाउनुपर्ने बताएका छन् ।