काँग्रेस-एमालेमा कुनै खटपट छैन : महेश बर्तौला
काठमाडौँ- नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सत्तारुढ दलहरूबीच कुनै खटपट नभएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले कांग्रेस-एमालेबीचको सहमतिबमोजिम सरकार अघि बढ्ने जिकिर गरेका छन् ।
‘सत्तारुढ दलमा कुनै खटपट छैन । कुनै नेता, कुनै मन्त्रीको विदेश भ्रमणमा जाँदा, कोही व्यक्तिले कुनै स्ट्याटस लेख्दा सरकार खटपट हुन्छ भन्ने कुरा कसरी भन्न सकिन्छ ?,’ बर्तौलाले भने, ‘काँग्रेस-एमालेबीचमा उच्चस्तरीय समझदारी बनेर बनेको सरकार हो । पार्टीको संस्थागत निर्णयबाट सत्ता सहयात्रा गरिरहेका छौँ ।’
उनले कसैले रोटी सेक्ने मनसाय राखेको भए आफूहरूलाई थाहा नहुने जिकिर गरेका छन् ।
‘हामीबीच कुनै समस्या, अन्तरविरोध, अविश्वास पनि छैन । छलफल भएको पनि छैन,’ बर्तौलाले भने, ‘बाहिर यस खालको अनुमान लगाएर कसैले रोटी सेकौँ भन्ने मनसाय राख्नुहुन्छ भने उहाँहरूको कुरा भयो ।’