Nic Ad Nic Ad
Nic Ad Nic Ad

ज्ञानेन्द्रविरुद्ध पुस्तकमा अध्याय कोरेका सुवेदी राजसंस्था फर्काउने अध्यायका ‘नयाँ मुखिया’

श्री ५ ज्ञानेन्द्रसँग मेरो सम्बन्ध सुरुदेखि नै राम्रो भएन
मंगलबार, चैत ५, २०८१

काठमाडौं– देशमा लागिरहेका नारा छन्– राजसंस्था कायम गरौं। व्यवस्था परिवर्तन गरौं।

samridhi jewllers

यो नारा यतिबेला झनै घन्किनुको अर्थपूर्ण कारण बन्यो ज्ञानेन्द्र शाहको पोखरादेखि काठमाडौं फर्किने साइत।

इतिहासले राजसंस्था फर्काउला या अघि बढ्ला तर तिक्तता विर्सेर ज्ञानेन्द्रले ८६ बर्षिय नवराज सुवेदीलाई अभियानको नयाँ मुखियाको जिम्मेवारी दिएका छन्। 

जबकि, उनै सुवेदीले आफ्नो पुस्तकमा ज्ञानेन्द्रविरुद्ध एउटा अध्याय नै लेखेका थिए। 

उनले त्यस अध्यायमा लेखेका छन्–
२०२५ सालको सुरुमा म गृहराज्यमन्त्री नै थिएँ। मलाई गर्दनको हाड खिइने रोग (स्पोन्डोलाइटिस)ले समात्यो। निकै दुःख पाएँ। 

सरकारबाट उपचार गर्न दिल्ली पठाइबक्स्यो। अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा भर्ना भएँ। श्रीमती मीरा र म दुई जना थियौं। 

राजदूतावासबाट राम्रै हेरचाह भएको थियो तर अपर्झट प्रधानमन्त्री सूर्यबहादुरजीको राजीनामा आयो। मन्त्रिपरिषद् विघटन भयो। आफू पनि मन्त्रीबाट हटें। 

अर्को मन्त्रिपरिषद् बन्न करिब एक हप्ता ढिलो भयो। राजदूतावासबाट पनि हेरचाह हुन छोड्यो। 

पाँच–छ दिनपछि श्री गेहेन्द्रबहादुर राजभण्डारीको फोन आयो। उहाँको भनाइ थियो, ‘नवराजजीलाई सोध्नु भन्ने हुकुम भएको छ, तपाईं व्यापार गर्ने कि नगर्ने?’ 

मैले बुझें– सरकारबाट उद्योग वाणिज्यमन्त्री बक्सन लाग्यो। जे निगाहा हुन्छ मलाई मन्जुर छ भनी जवाफ दिएँ। कीर्तिनिधि विष्टको प्रधानमन्त्रित्वमा भोलिपल्ट मन्त्रिमण्डल बन्यो। म उद्योग वाणिज्यमन्त्री भएँ।

दिल्लीबाट फर्कन करिब तीन हप्ता लाग्यो। काठमाडौं पुगेको भोलिपल्टै श्री ५ बाट बेलुका दर्शनभेट बक्स्यो। सरकारबाट हुकुम भयो, ‘नवराज, तिमीलाई इमानदारीसँग काम गर्छौं भन्ने विश्वासमा यो मन्त्रालय दिएँ। लामो समय तिमीले यसै मन्त्रालयमा काम गर्नुपर्छ। मेरो परिवारको दबाब आउन सक्छ। डर नमानी काम गर। तिमीलाई अप्ठ्यारो परे मलाई खबर गर्नू। तिमीले नै भारतसँग व्यापार तथा पारवहनसन्धि गर्नुपर्छ।’ 

हुन पनि यो मन्त्रालयमा करिब तीन वर्षभन्दा बढी मैले काम गरें। कसैको दबाबमा पनि आइनँ। मलाई कुनै दिन पनि प्रधानमन्त्रीले यो गरिदे भन्नुभएन। कीर्तिबाबुसँग काम गर्न साह्रै सजिलो थियो। कुनै कुरा सोधेमा पनि आफैं निर्णय गर्नुस्, मसरहको साथी म के भनु भन्नुहुन्थ्यो।

श्री ५ अधिराजकुमार हिमालय, वसुन्धरा र श्री ५ अधिराजकुमारी हेलेन तीनै जना व्यापारमा हुँदा उहाँहरूबाट भने बराबर दबाब आउँथ्यो। पछि श्री ५ अधिराजकुमार ज्ञानेन्द्र पनि थप होइबक्स्यो। राजा केही पनि नदे भन्ने तर उहाँहरूलाई पूर्ण सहुलियत चाहिने। यस्तो विषम परिस्थितिमा मैले काम गर्नुपरो। एक दिन साँझ श्री ५ बाट बोलाइबक्स्यो। त्यहाँ प्रधानमन्त्री पनि हुनुहुँदो रहेछ। कुरा चल्दै गयो। राजाबाट हुकुम भयो, ‘मेरा भाइ–छोराहरूलाई व्यापार गर्नु छ, सबै यिनलाई दिए जनताका छोराहरूले के गर्ने? मैले एक–एक उद्योग गर भनेर दिएकै छु। अब अरू दिनुपर्दैन। कीर्तिनिधि, नवराजलाई बढी ‘प्रेसर’ (दबाब) भयो, तिमीले भन्दिनू।’ 

यो कुरा प्रधानमन्त्रीले भन्नुभयो कि भएन थाहा पाइनँ तर त्यसपछि मलाई दबाब आएन। तर उहाँहरू पार्टीहरूमा भेट हुँदा पनि मसँग बोल्नुहुन्नथ्यो। 

श्री ५ ज्ञानेन्द्रसँग मेरो सम्बन्ध सुरुदेखि नै राम्रो भएन। पछि श्री ५ होइबक्सँदा पनि मसँग राम्रो व्यवहार हुन सकेन। यसका मुख्य दुई कारण छन्।

प्रथमतः २०३८ सालमा सूर्यबहादुरजीको विरोधमा प्रधानमन्त्रीको उम्मेदवार नहुनु र दोस्रोमा ओमेगा (घडी) कारखाना थियो। ओमेगा वाचले नेपालमा एक कारखाना खोल्न पाऊँ भनी प्रस्ताव पठायो। कुरा राम्रो थियो। अतः विश्व बैंकको वार्षिक साधारणसभाको मिटिङबाट फर्कंदा जेनेभा गई ओमेगा फ्याक्ट्री हेर्नु र कुरा पनि गर्नु भन्ने श्री ५ महेन्द्रबाट निर्देशन बक्स्यो।

वासिङ्टनबाट फर्कंदा म, भेषबहादुरजी र डा. पुष्करनाथ पन्त हामी तीन जनाले ओमेगा फ्याक्ट्री पनि हे¥यौं र नेपालमा फ्याक्ट्री खोल्नेबारे कुरा पनि ग¥यौं। उनीहरूको एउटै मात्र सर्त हामी सरकार या प्राइभेट कसैसँग पनि साझेदारीमा काम गर्दैनौं भन्ने थियो। यो सर्त मन्जुर हुन्छ भने एक वर्षभित्र फ्याक्ट्री चालु गर्छौं भन्ने उनीहरूको भनाइ थियो। 

हामीहरूले ओमेगा जस्तो कम्पनी आउँछ भने किन नदिने भनी मन्जुर दियौं। तर, काठमाडौं आएपछि श्री ५ अधिराजकुमार ज्ञानेन्द्रलाई त्यसमा आधा सेयर (अंश) चाहियो जुन कुरा मैले ठाडै इन्कार गरें। यसैकारण नेपालमा ओमेगा पनि आउन सकेन । ज्ञानेन्द्र सरकार पनि मसँग रिसाइबक्स्यो। 
जे होस्, दरबारमा प्रधानमन्त्री र मेरोबीचमा सरकारबाट बक्सेको निर्देशनले मलाई काम गर्न सजिलो भयो।

 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्