ए! नारायण दाई– चिन्न सकौं खास प्रतिपक्षी
काठमाडौं– पत्रकारिताका शिखर यात्रामा रहनुभएका अग्लो कदका पैदलयात्री नारायण वाग्ले दाईको आलेख पढ्न त गज्जब नै लाग्छ।
विचारको घर्षणले नसोचेका तर्कहरूको शिलशिला धमिला देखिँदैनन्। हालै मात्र प्रकाशित भएको एउटा आलेख पढेपछि एउटै ट्रयाकमा हिँडिरहेको यो बबुरोलाई भन्न मन लाग्यो– ए! नारायण दाई चिन्न सिकौं खास प्रतिपक्षी।
संसदीय प्रणालीमा त तपाई हामीले बुझेको प्रतिपक्षी स्पष्ट छ। तर म खास प्रतिपक्षीको चर्चा गर्नेछु।
मलाई यत्ति त थाहा छ कि प्रतिपक्षी भनेको कुनै पनि लोकतान्त्रिक शासन प्रणालीमा सरकारविरुद्ध रहेको राजनीतिक दल वा समूहलाई जनाउँछ। यो पक्ष सत्तारूढ़ दलको नीति, योजना, र निर्णयहरूको आलोचना गर्ने, सशक्त निगरानी गर्ने, र वैकल्पिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भूमिकामा रहन्छ।
सरकारको निगरानी, सरकारको नीति तथा कार्यक्रमको विश्लेषण, जनताका हकहित संरक्षण गर्न सरकारको गतिविधिलाई नियाल्ने, वैकल्पिक नीति प्रस्ताव गर्ने संसदीय अभ्यासको प्रतिपक्षी नै हो।
देश विकासका लागि सरकारको योजनालाई चुनौती दिने वैकल्पिक कार्यक्रम प्रस्तुत गर्ने, आफ्नै पार्टीको दर्शनअनुसार नयाँ नीतिहरू अगाडि सार्ने, संसदीय बहस र आलोचना गर्ने, संसदमा बहस गरी सरकारलाई जवाफदेही बनाउने प्रतिपक्षी नै हो।
नेपालको सन्दर्भमा, संघीय संसद र प्रदेश सभाहरूमा विभिन्न दलहरू प्रतिपक्षीको भूमिकामा रहन्छन्।
तर १७ बर्षमा १६ सरकार र गठजोड यताउता पार्नेलाई कसरी प्रतिपक्षी भन्ने? नौ महिनाअघि एउटा सरकारले बजेट तयार पार्छ त्यसैलाई कार्यान्वयन गर्न सत्तामा अहिलेको प्रतिपक्षी पुग्छ भने हामी त्यसलाई मान्न तयार छौं त?
पत्रकारिताको धर्म प्रतिपक्षीको आवाज बोलिदिने हो भने हामी खास प्रतिपक्षीको आवाज किन बनिरहेका छैनौं?
यो व्यवस्थाकै प्रतिपक्षी हुन्, ज्ञानेन्द्र शाह।
माओवादी, रास्वपा, राप्रपा भनेका खास प्रतिपक्षी होइनन्। यिनीहरु भनेका सत्ता नपाएर फरक कुर्सीमा बसेका अमुक सांसदको झुन्ड मात्र हो।
खासमा देशमा अहिलेको मूल प्रतिपक्षी ज्ञानेन्द्र शाहसहित उनलाई साथ दिने शिव सेना नेपाल, दुर्गा प्रसाईँ, स्वागत नेपालहरू हुन्।
प्रतिपक्षी हुन्– डा. जगमान गुरुङहरू। जसले यो व्यवस्थाकै विकल्पमा राजसंस्थासहितको व्यवस्थाको दलील पेश गरिरहेका छन्। पैरवी छेडिरहेका छन्।
सदनमा छिरेका ठूला साना दल प्रतिपक्षी होइनन्। अझ अहिलेको अवस्था र यो सदनलाई हेर्ने हो भने सत्तामा पुगिसकेको राप्रपा पनि प्रतिपक्षी मान्न म त तयार छैन। म नभएको होइन, स्वयम् ज्ञानेन्द्र शाहले राजसंस्थाको आन्दोलनको संयोजकत्व राप्रपाका नेतालाई नपत्याएर आफ्ना पूर्वआलोचक, विरोधी नवराज सुवेदीलाई सुम्पिए भने मैले कसरी यिनीहरु प्रतिपक्षी हुन् भन्ने मान्ने?
हामी हौं बरु!
हामीले राजसंस्थाको त्यो सक्रियताको प्रतिपक्षमा व्यवस्थाकै परिवर्तनको पैरवी गरिदियौं। त्यसबेला हामी खास प्रतिपक्षी थियौं।
तर यसबेला दलतन्त्र, नेतातन्त्रको आलोचना गर्ने तर व्यवस्था बिरोधीको आवाजलाई नसुन्दिने, सुनेर पनि नसुनेझैं गर्ने हाम्रा तौर तरिका प्रतिपक्षीका छैनन्।
ज्ञानेन्द्रको स्वागतमा पुगेको त्यो भिँड खास प्रतिपक्षी हो कि होइन? ‘राजा आऊ देश बचाऊ’ भनी इतिहासको पाङ्ग्रा पुरानै ठिक रहेछ, नयाँ त खत्तम भएछन् भन्ने प्रतिपक्षी हो कि होइन?
बरु, बालेन, हर्क र गोपीहरूले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छन्। कुनै सत्ता आए पनि त्यसविरुद्ध स्थानीय सरकारको आवाज बलियो बनाउने काममा उनीहरू सक्रिय छन्।
हामी यहिँनेर प्रतिपक्षी बन्नलाई चुक्यौं, प्रतिपक्षी चिन्नलाई चुक्यौं। नारायण दाई, अब चिन्ने होइन त?