मतपत्रमा त्रुटि भएपछि पिएन क्याम्पसमा मतदान सुरु भएन
काठमाडौँ-पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु निर्वाचनका लागि छापिएको मतपत्रमा त्रुटि भएको छ ।
अखिल छैटौँको चुनाव चिह्न विना मतपत्र छापिएपछि विवाद भएको छ । सोही विवादका कारण बिहान ८ बजेबाट हुने भनिएको मतदान अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।
मतपत्रमा चुनाव चिह्न नै छुटेको पाइएपछि फेरि मतपत्र छाप्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।
समानुपातिकतर्फको मतपत्रमा अखिल छैटौँको चुनाव चिह्न थिएन । मतपत्रमा चुनाव चिह्न छुटाएर निर्वाचन समितिले चुनाव प्रभावित पार्न खोजेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । अहिले पृथ्वीनारायण क्याम्पसबाहिर विभिन्न विद्यार्थी संगठनले कोण सभा गर्दै छिटो चुनाव गर्न दबाब दिइरहेका छन् ।
९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत पृथ्वीनारायण क्याम्पसमा अहिलेसम्म नेकपा एमाले निकटको अनेरास्ववियुले चुनाव जित्दै आएको छ । यसपटक संगठनहरु विरासत जोगाउने र भत्काउने रणनीतिमा छन् ।
पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जना उम्मेदवार छन् । अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील भट्टराई, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार छन् ।
अखिल छैटौँबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ पनि स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् । विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
विप्लवीलाई राष्ट्रिय स्वतन्त्र पार्टी निकट विद्यार्थीहरूले साथ दिएका छन् ।