पोखरा बेलुन विष्फोट घटना : के छ छानबिन समितिले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा ?
काठमाडौं- पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उदघाटन समारोहमा भएको बेलुन विष्फोट घटनाको अनुसन्धान गर्न गठिन छानबिन समितिले गृहमन्त्री रमेश लेखकलाई आज (मंगलबार) प्रतिवेदन बुझाएको छ ।
भ्रमण वर्ष उदघाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । घटनालगत्तै गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका थिए ।
समितिले घटनाको विस्तृत छानबिन गरी आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन मंगलबार गृह मन्त्रालयमा बुझाएको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेख भएका विषय कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिएका छन् ।
समितिले प्रतिवेदनमा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रममा विशिष्ट व्यक्ति स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने, सुरक्षालाई भन्दा उपस्थितिलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने, मञ्चका कार्यक्रममा प्रज्वलनशील पदार्थको प्रयोग पूर्ण रूपमा रोक लगाउनुपर्ने र प्रविधिका नाममा जोखिम मूल्यांकन नगरी कुनै कार्यक्रम औपचारिक समारोहमा समावेश गर्न नहुने लगायतका सुझावसहितको विषय समेटेको छ ।
त्यसका साथै भविष्यमा यस प्रकारका घटना हुन नदिन सुधार गर्नुपर्ने विषय समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा विस्फोटक रसायन र प्रज्वलनशील पदार्थको अनाधिकृत आपूर्ति तथा उपयोगमा बन्देज लगाउनुपर्ने, यस्ता प्रकृतिका कार्यक्रम आयोजना गर्नुपूर्व अनुमति लिने क्रममा स्थानीय प्रशासनलाई कार्यक्रमको रूपरेखा उपलब्ध गराउनु पर्ने व्यवस्था मिलाउनु पर्ने भनिएको छ ।
कार्यक्रममा सुरक्षा मापदण्डलाई ध्यानमा राखी सुरक्षित विकल्पको उपयोग गर्ने, बेलुन उडाउन आवश्यक भएमा अप्रज्वलनशील हिलियम ग्याँस प्रयोग गर्ने, यस्ता प्रकृतिका कार्यक्रममा अनुमति बिना आतिसबाजी तथा विष्फोटक रसायनको प्रयोगलाई पूर्णतः बन्देज लगाउनु पर्ने र सार्वजनिक कार्यक्रममा सहभागी हुने विशिष्ट÷अतिविशिष्ट व्यक्तिले समेत आफू सहभागी हुने सार्वजनिक कार्यक्रमको सञ्चालन र व्यवस्थापनबारे अग्रिम जानकारी लिई सुरक्षाको सुनिश्चितता भई कार्यक्रममा उपस्थिति हुने संस्कारको विकास गर्नुपर्ने लगायतका विषय सुधार गर्नुपर्ने उल्लेख छ ।