१ वर्षमा १५५ जना विपन्न र वेवारिसे व्यक्तिलाई निशुल्क उपचार
काठमाडौँ- लक्षित वर्ग निःशुल्क उपचार कार्यक्रममा काठमाडौँ महानगरपालिकाभित्र भएका अस्पतालहरुले १ वर्षमा २६ जनाको शल्यक्रियासहित १५५ जनालाई निःशुल्क उपचार गरेका छन् ।
सोमबार बसेको ‘निःशुल्क उपचार निर्देशक समिति’को बैठकमा स्वास्थ्य विभागले यस विषयमा जानकारी गराएको हो ।
लक्षित वर्ग निःशुल्क उपचार गराउनु पर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयनमा थिएन । यसलाई कार्यान्वयन गराउन महानगरपालिकाले ‘अस्पतालमा निःशुल्क उपचार गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । यसमा भएको व्यवस्था कार्यान्वयन गराउन सबै निजी अस्पतालहरुलाई पत्राचार गरेर अनलाइन प्रणालीमार्फत २०८० फागुन १ गतेदेखि सेवा सुरु गराइएको हो ।
प्रणाली सञ्चालन गर्न अस्पतालबाट मेडिकल रेकर्ड डिपार्टमेन्ट र प्रशासन विभागबाट कर्मचारी माग गरेर तालिम दिएको थियो । यस प्रणालीमा महानगरपालिकाभित्रका ५२ वटा अस्पताल आवद्ध छन् । यसमा ३७४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् ।
अहिले यो प्रणाली कार्यान्वयनमा छ । प्रणालीबाट उपचार दिने र पाउने तथा कुन ठाउँमा कसको कसरी उपचार भएको छ, कुन अस्पतालमा कति शय्या छ, हेर्न सकिन्छ । यसलाई महानगरपालिकाको स्वास्थ्य विभागले सहजीकरण गरिरहेको छ ।
सेवा लिनेले आकस्मिक सेवा, फेमिली मेडिसिन, आँखा नाक कान, नशाको रोग, क्यान्सर, दम, क्षयरोग जस्ता छाती सम्बन्धी (पल्मोलोजी), सर्जरी (शल्यक्रिया), स्त्री तथा प्रसुति रोग सेवा, पेट सम्बन्धी सेवा, आँखाको उपचार सेवा लिनुभएको हो । यसरी सेवा लिनेमध्ये सबैभन्दा धेरै ३५ जनाले फेमिली मेडिसिन र २६ जनाले शल्यक्रिया सेवा प्राप्त गर्नुभएको छ । यो सेवा ३२ वटा अस्पतालबाट प्रदान गरिएको हो । यसमा सबैभन्दा धेरै अन्नपूर्ण न्यूरोलोजिकल अस्पतालले २९ जनालाई, काठमाडौँ मेडिकल कलेजले १७ जनालाई, काठमाडौँ मोडेल अस्पतालले १४ जनालाई, नेपाल आँखा अस्पतालले १२ जनालाई सेवा दिएका छन् । अन्य अस्पतालहरुले बढीमा ७ जनालाई र कम्तीमा १ जनालाई सेवा दिएका छन् ।
वैठकका शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले, नियत ठिक भएन भने नीति मात्र राम्रो भएन नहुने धारणा राख्नुभयो । ‘पैसा नहुनेसँग पहुँच हुँदैन । आत्मविश्वास हुँदैन । कतिसँग त निःशुल्क सेवा लिनका लागि आवश्यक पर्ने कागजात पनि नहुने अवस्था छ । यसकारण, विपन्न र वेवारिसेका लागि बोल्ने अरु नै आवश्यक परेको छ ।’ महर्जनले धारणा राख्नुभयो ।
वैठकमा बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि एवं जनस्वास्थ्य कार्यालय काठमाडौँका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्ट, नेपाल नर्सिङ् काउन्सिलका रजिष्ट्रार शुक्ला खनालले विपन्न उपचार सेवालाई थप प्रभावकारी बनाउँदै जानु पर्नेमा जोड दिनुभयो । छलफलमा निजी स्वास्थ्य संस्थाको छाता संगठन (अफिन) का अध्यक्ष चण्डेश्वर वैद्यले, १० प्रतिशत शय्या निःशुल्क रहेको आफ्नो बुझाइ बताएपछि अधिकारीहरुले, १० प्रतिशत निःशुल्क उपचारभित्र शय्या र औषधोपचार सबै समावेश हुने स्पष्ट पार्नुभयो ।
यो प्रणाली कार्यान्वयनमा आएसँगै आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने राज्यको नीति कार्यान्वयनमा आएको स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. ले धारणा राख्नुभयो । नेपालको संविधानले हरेक नागरिकको स्वास्थ्य सम्बन्धी हकमा स्वास्थ्य सेवामा समान पहुँच हुने व्यवस्था गरेको छ । निःशुल्क उपचार सेवा लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) का लागि हो ।
जनस्वास्थ्य निरीक्षक एवं कार्यक्रमका फोकल पर्सन धनेन्द्र श्रेष्ठका अनुसार संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि सम्मिलित एकीकृत अनुगमन प्रणालीबाट उपचार सेवालाई थप प्रभावकारी बनाउन सम्भव छ ।
कतिपय नागरिकलाई यसप्रकारको सेवा आवश्यक भएर पनि प्रक्रियामा जान नसकेर उपचार लिन आँट गरेका छैनन् । यो अवस्थालाई सुधार गर्न अस्पतालहरुका सामाजिक सेवा एकाइलाई प्रभावकारी बनाउनु पर्नेमा अधिकारीहरुको जोड छ ।
उपचार सेवा पाउने विधि
लक्षित वर्गले ३ वटा विधिमध्ये कुनै एकबाट सेवा लिन सक्नुहुन्छ । एक विपन्न परिचय पत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ । दुई, विपन्न परिचय पत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा शिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन सकिन्छ । तीन, यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरुले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सकिनेछ । प्रमाण प्रमाणित हुन सकेमा एकाइले शिफारिस गर्नेछ ।
सेवा लिनेले साइटमा कसरी सेवा लिने
वेभ बारमा गएर एड्रेसमा टाइप गरेपछि प्रणाली खुल्छ । यसमा सेवाग्राहीले सेवा लिने प्रक्रिया तथा कागजात सम्बन्धी विवरण पढ्न सक्छन् । कुन अस्पतालमा कुन सेवा छ । त्यसमा उपचारका लागि शय्या खाली छ कि छैन । साइटबाटै हेर्न सकिन्छ ।
साइटबाट ७ प्रकारका डकुमेन्ट डाउनलोड गर्न सकिन्छ । निःशुल्क उपचार सम्बन्धी महानगरपालिकाको कार्यविधि, कार्यविधिबमोजिम निःशुल्क उपचार सेवा लिनेहरुले शिफारिसका लागि दिने निवेदन, वडाले निःशुल्क उपचारका लागि दिने शिफारिस, मुचुल्काका ढाँचासहित कार्यविधिका अनुसूचीहरु २, ३, ४, ५, ६ र ७ डाउनलोड गर्न सकिन्छ । अनुसूची १ र ८ प्रतिवेदन सम्बन्धी भएकोले सेवाग्राहीका लागि आवश्यक पर्दैन ।
निःशुल्क उपचारका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा निर्देशक समितिको गठन भएको छ । समितिमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य हुनुहुन्छ ।
निःशुल्क स्वास्थ्य उपचार सेवा लिने विधि
१) गरिबी परिचय पत्र भएका बिरामीहरूले सोझै अस्पताल गई उपचार सेवा लिन सकिने ।
२) यदि गरिबी परिचय पत्र छैन भने बिरामीहरूले कार्यविधिको अनुसूची २ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची ५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिने ।
३) वडा कार्यालयबाट दिइने अनुसूची ४ बमोजिमको सर्जमिन र अनुसूची ३ अनुसारको सिफारिस पत्र लिई अस्पतालमा जाने
४) यदि बिरामीलाई उपचारका लागि कुन अस्पताल जाने अन्योल भएमा सम्बन्धित वडाको सिफारिस पत्र लिई काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको निःशुल्क उपचार सहजीकरण एकाइमा सम्पर्क गर्ने । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठलाई मोबाइल नम्बर ९८०१३०६८९३ मा सोझै सम्पर्क गर्न सकिनेछ ।
५) बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार प्रदान गरिने ।