परराष्ट्रमन्त्री राणाले बल्ल बल्ल भेटिन् भारतीय विदेशमन्त्री जयशंकर, धेरै कुरा भएनन्
काठमाडौं– एक साता लामो भारत बसाईका क्रममा परराष्ट्रमन्त्री आरजु राणासँग त्यहाँका विदेशमन्त्री एस जयशंकरको साइडलाइन वार्ताको साइत मिल्यो।
जयशंकरसँगको भेटवार्तामा राणाले नेपालको पछिल्लो राजनीतिक गतिविधिका विषयमा कुराकानी गरे पनि धेरै लामो वार्ता हुन सकेन।
जयशंकर र राणा एउटा औपचारिक कार्यक्रममा प्रवचनका लागि पुगेका थिए। जयशंकरले मंगलबार प्रवचन दिएपछि राणासँगको भेटको मेसो मिलेको थियो।
सो क्रममा राणाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिनुपर्ने बताइन्। तर, मोदीको व्यस्तताका कारण भेट हुन नसक्ने स्थितिबारे जयशंकरले राणालाई जानकारी गराएको उच्च स्रोतले क्यानडानेपाललाई जानकारी दियो।
नेपालका तर्फबाट सगरमाथा संवादमा प्रमुख अतिथिका रुपमा मोदीलाई निम्तो दिने कार्यक्रम रहेको थियो।
पहिलो पटक भारत जाँदा राणाले जति इज्जत पाएकी थिइन् अहिले भने त्यो तहको सम्मान नभएको बताइन्छ।
खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा बीआरआई सम्झौता गरेपछि भारत कुटनीतिक रुपमा रुष्ट रहेको छ। यद्यपि मोदीलाई निम्तो पठाइने र उनले स्वीकार गर्ने अवस्था आउने बताइन्छ।