बहुमत ल्याउन अर्काे पार्टीसँगै मिल्नै पर्ने वाध्यता छ : देउवा
काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो रहेको बताएका छन् ।
आज (बुधबार) पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएकाले अर्को पार्टीसँग मिल्नुपर्ने अवस्था रहेको बताए । यसमा पार्टीको दोष नभइ संविधान नै त्यस किसिमको रहेको बताए । यसलाई बुझेर कांग्रेसले बहुमत ल्याउने प्रयास गर्न जरुरी रहेको बताए ।
उनले अहिलेको संविधान धेरै राम्रो रहेको बताए । उनले समावेशी, समानुपातिकताका आधारमा बनेको संविधान भएकाले यसलाई बचाइराख्नु पर्ने बताए ।
सभापति देउवाले भने, ‘अहिलेको संविधान अत्यन्तै राम्रो संविधान छ । यसमा समावेशी, समानुपातिकताका आधारमा बनेको संविधान छ । यस संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ । त्यसकारण कुनै पनि पार्टीसँग मिल्नु पर्ने आवश्यकता छ । त्यसैले हाम्रो पार्टीले मेहनतका बाबजुत सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर बहुमत ल्याउन सकेको छैन । पार्टीको दोष भन्दा पनि संविधान नै यस्तो किसिमको छ । धेरै कारण छन् । यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्छ ।’