ओली, प्रचण्ड र देउवालाई बाबुरामले दिए छोटे राजाको संज्ञा
काठमाडौं- नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजावादीहरुको प्रदर्शनलाई महत्व दिन आवश्यक नभएको टिप्पणी गरेका छन् ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्दै माइतीघरमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै उनले जनताले फ्याँकिसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छोटे राजाको संज्ञा दिएका छन् ।
उनले भने, ‘तीनटा टाउको अहिले देखिएका छन्, तिनीहरुले आफूलाई छोटे राजाको रुपमा पनि देखाउँछन् । संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएका छन् । त्यो तीनटा टाउकोले पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिन्छन् ।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको भन्दै दुई छिमेकीले पनि सुँड घुसारेर कहिले कसलाई कहिले कसलाई उचालिरहेको टिप्पणी गरेका छन् ।
नेसपा नयाँ शक्तिले बुधबार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रदर्शन गरेको छ । ‘राजनीतिक अस्थिरताको ओखती, प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ नाराका साथ राजधानीको माइतीघरमा प्रदर्शन गरिएको हो । सो क्रममा पार्टीले राजतन्त्र फेरि फर्कन नसक्ने भन्दै ‘हामी नागरिक हौं ! रैती हैनौं’ भन्ने नारा अंकित प्लेकार्ड समेत प्रदर्शन गरेको थियो ।प्रदर्शनकारीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने माग गरे । यस्तै राजालाई सत्ताबाट हटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अभ्यास भएको सडक नाटक समेत प्रदर्शन गरिएको थियो ।