जीवा लामिछानेको नियात्रा ‘अक्षत अन्टार्कटिका’ लोकापर्ण
काठमाडौ - उद्यमी एवं लेखक जीवा लामिछानेको संस्मरण ‘अक्षत अन्टार्कटिका’ लोकार्पण भएको छ । बुधबार प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको एक कार्यक्रममा लेखक लामिछाने र लेखक एवं पत्रकार बसन्त बस्नेतले कृतिको लोकार्पण गरेका हुन् ।
लोकार्पणपछि पत्रकार बस्नेतले लेखक लामिछानेसँग संवाद गरेका थिए । संवादका क्रममा लेखक लामिछानेले पृथ्वीको सबैभन्दा रहस्यमय एवम् कौतुकमय स्थानको भ्रमण गर्ने पहिल्यैदेखि इच्छा रहेको र त्यो गत वर्ष सम्भव भएपछि कृति लेखिएको बताए ।
‘म घुम्न रुचि भएको मान्छे हुँ । यसअघिका नियात्रामा घुमेका ठाउँको सपाट वर्णन गर्ने गरेको थिएँ,’ लामिछानेले भने, ‘तर अक्षत अन्टार्कटिकामा फरक प्रयोग गरेको छु । नियात्रालाई पनि आख्यानीकरण गर्ने प्रयास गरेको छु । यसलाई पाठकले पक्कै फरक स्वादका रुपमा मन पराउनुहुनेछ ।’
हिँवैहिउँको महादेश अन्टार्कटिकामा चिसो मात्रै नभएर सौन्दर्य पनि रहेको लेखक लामिछानेले सुनाए ।
कृतिमा वैश्विक चिन्तन, मानवीय सम्बन्ध र सरोकारलाई हार्दिकतासहित अभिव्यक्त गरिएको छ ।
१२ दिनको अन्टार्कटिका यात्रापछि लामिछानेले लेखेको ‘अक्षत अन्टार्कटिका’लाई फाइन प्रिन्टले प्रकाशन गरेको छ । यसअघि उनका ‘सरसर्ती संसार’ र ‘देश–देशावर प्रकाशित छन् ।