एलपिजी ग्याँसको सम्भावित जोखिम घटाउन काठमाडौँ महानगरको निरीक्षण र सचेतना
काठमाडौँ- ग्याँसको प्रयोग गरेर खाना पकाउने व्यक्ति तथा पेशाकर्मीहरुले सिलिण्डरमा भरिएर आएको ग्याँसमा बजारमा पाइने रेगुलेटर र पाइप जोडेपछि केही समस्या हुँदैन भन्ने विश्वास राखेको पाइएको छ ।
काठमाडौँ महानगरपालिकाको विपद् व्यवस्थापन विभाग र महानगर प्रहरी बलले धेरै ग्याँस सिलिण्डर बालेर खाना पकाउने ठाउँहरूमा गरेका संयुक्त निरीक्षणका क्रममा भरिएको सूचक र गरिएको कुराकानीबाट यस्तो देखिएको हो । अहिलेसम्म ५६ वटा पसलको निरीक्षण गरिएको छ । यो निरीक्षण सचेतना अभिवृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको हो ।
घरघरमा खाना पकाउने प्रयोजनका लागि सिलिण्डरमा भरेर ल्याइने ग्याँस एलपिजी अर्थात् लिक्विफाइड पेट्रोलियम ग्याँस हो ।
यो प्रज्वलनशील पदार्थ भएका कारण उपयोगमा सावधानी अपनाउनु सकिएन भने आगलागी हुने, सिलिण्डर विस्फोट हुने खतरा हुन्छ । यो खतराबाट बच्न ग्याँस उत्पादक, सिलिण्डर उत्पादक, सिल उत्पादक, सिलिण्डर भर्ने कम्पनी, ढुवानी गर्ने सवारी साधन, यसको गुणस्तर जाँच गर्ने अधिकारी, डिष्ट्रिव्युटर, डिलर, विक्रेतासँगै उपभोक्ताहरूको आफ्ना-आफ्नै भूमिका देखिन्छन् । यस्तै ग्याँस चुलो, चुलोमा जोडिने पाइप, पाइपमा जोडिने रेगुलेटर उत्पादक र विक्रेताको महत्वपूर्ण भूमिका हुन्छ ।
यसमध्येको ढुवानी नियमन र व्यवस्थापन गर्न एलपिजी ग्याँस ढुवानी नियमावली २०७३ ले जारी गरिएको छ ।
घरेलु प्रयोजनमा ल्याइने ग्याँसको नियमन र व्यवस्थापनका लागि ‘एल. पी. जी. ग्याँस नियमावली २०६५’ जारी गरिएको छ । यसअनुसार घरेलु प्रयोजनका लागि १४.२ किलोग्राम तौल भएको रातोबाहेक अन्य सिलिण्डरमा एलपिजी ग्याँसको कारोबार गर्न हुँदैन । सिलिण्डरमा ग्याँस भर्ने उद्योगको नाम र लोगो, सिलिण्डरको सिरियल नम्बर, निरीक्षकको टाँचा, हाइड्रोलिक परीक्षण गरिएको मिति, वर्किङ् वा टेस्ट प्रेसर, भल्वसहित खाली सिलिण्डरको तौल, सिलिण्डर जाँच गरिएको मिति र अर्कोपल्ट पुनः जाँच गर्नु पर्ने मिति खुलाउनु पर्छ । सिलिण्डरको फुट रिङ् (पिँध) र घाँटी (नेक रिङ्) काटेर जोडिएको भए ग्याँस भर्न हुँदैन ।
ग्याँस सिलिण्डरमा प्रयोग गरिने भल्व पनि प्रमाणपत्र प्राप्त कम्पनीले मात्र उत्पादन गर्न पाउँछन् । यसमा पनि भल्भ निर्माताको नाम, लोगो वा कोड नम्बर र भल्भ निर्माण गरेको मिति उल्लेख गर्नुपर्छ ।
विक्रेता नियमावली
ग्याँस भर्ने धातुको भाँडो सिलिण्डर हो । तोकिएको मात्रामा ग्याँस भए नभएको थाहा पाउन सिल सम्बन्धी र चुलोमा आगो बाल्न, प्रेसर रेगुलेटर सम्बन्धी ज्ञान आधारभूत मानिन्छन् ।
८ वटा सूचक र २४ वटा उपसूचकका आधारमा अवस्था हेरिएको थियो ।
आगलागी हुँदा तत्काल निभाउन प्रयोग गरिने फायर इस्टिङ्विसरको उपलब्धता, यसलाई चलाउन कर्मचारीको तालिम, कार्यस्थलमा आपतकालीन ढोका वा मार्गको व्यवस्था, कार्यस्थलमा पर्याप्त हावा आउनजान सक्ने अवस्था, काम गर्दा लगाउने सुरक्षा सामग्री वा पोशाक, भान्छामा ग्याँस नियन्त्रण गर्ने, दबाब नाप्ने, स्वचालित रूपमा ग्याँसको आपूर्ति रोक्ने, ग्याँस चुहिएको थाहा पाउने विधि र यसको प्रयोग, ग्याँस जडान गर्दा अपनाउनु पर्ने सुरक्षा विधि, ग्याँस भण्डारण सूचकमा समेटिएका छन् ।
यिनै सूचकअन्तर्गत थप हेर्नु पर्ने विषयलाई उपसूचकमा राखिएको छ ।