राजेश हमाल नआउने भयो अब बिपिनको लागि बाटो खुल्ला
आगामी नयाँ वर्ष २०८२ लाई लक्षित गरेर चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएका तीन एक्सन फिल्ममध्ये ‘नरसिंहा अवतार’ प्रतिस्पर्धाबाट पछाडि हटेको छ । प्राविधिक काम नसकिएकाले पूर्वनिर्धारित मितिमा फिल्म नआउने निर्देशक दीवाकर भट्टराईले जानकारी दिए । फिल्मको नयाँ प्रदर्शन मिति भने तय भएको छैन । तर, आगामी जेठमा रिलिजको तयारी भइरहेको उनले बताए ।
दीवाकरले भने, ‘हामीले भर्खरै छायांकन सकेका हौं । त्यसैले प्राविधिक काम अझै धेरै बाँकी छ । अनि चैत २९ मा धेरै नेपाली फिल्म हुने भए । किन भिड्नु भन्ने सोचले पनि त्यो मितिमा नआउने निधो गरेका हौं । अब जेठतिर प्रदर्शन गर्ने विषयमा कुरा भैरहेको छ । फिल्म जेठ पछाडि चाहिँ जाँदैन ।’ उनले फिल्मलाई एकल रिलिजका लागि प्रयास भैरहेको पनि बताएका छन् ।
‘नरसिंहा अवतार’ अभिनेता राजेश हमालको आठ वर्षपछिको कमब्याक फिल्म हो । यसैले यो फिल्मप्रति दर्शकमा चासो र अपेक्षा उच्च छ । हमाल स्वयंका लागि पनि यो फिल्म निकै महत्त्वपूर्ण छ । किनकि, उनका पछिल्ला केही फिल्म अपेक्षित चल्न सकेनन् । जसले गर्दा उनले आठ वर्ष ब्रेक लिए । अब करिअरलाई पुरानै लयमा फर्काउन उनका लागि ‘नरसिंहा अवतार’ चल्नैपर्ने देखिन्छ ।
यसमा राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, नीर शाह, सरोज खनाल, उषा खड्गी (पूर्वमिस नेपाल), प्रशान्त ताम्राकार, दीपा शाही, राजिव बस्नेत, अर्जुन श्रेष्ठ, अमित श्रेष्ठ लगायतको पनि अभिनय छ । फिल्मको निर्मातामा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने छन् । चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको फिल्ममा राजेश हमाल दुई फरक लुक्समा देखिने जनाइएको छ ।