कुलमानले भने- ऊर्जामन्त्रीको कुरा नपत्याउनू, घरायसी ग्राहकलाई कुनै हालतमा लोडसेडिङ हुन दिन्न
काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जस्तोसुकै कठिन परिस्थितिमा पनि घरायसी ग्राहकहरुले लोडसेडिङ भोग्नुपर्ने स्थिति आउन नदिने बताएका छन्।
प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री दीपक खड्काले बुधबार राष्ट्रिय सभाको बैठकमा अब घरघरमा लोडसेडिङ हुने बताएकामा कुलमानले त्यो अवस्था नआउनेमा निर्धक्क हुन उपभोक्ताहरुसँग आग्रह गरे।
मन्त्रीले त लोडसेडिङ हुने घोषणा नै गर्नुभयो नि भन्ने प्रश्नमा कुलमानले भने, ‘उहाँ अहिले मलाई जसरी पनि असफल बनाउन लागिरहनु भएको छ। धेरै पटक स्पष्टीकरण सोधिसक्नुभयो। भारतबाट आयात गर्नका लागि पनि व्यवधान खडा गरिरहनुभएको छ। उहाँले जतिसुकै अवरोध गरेपनि म प्राधिकरणमा रहेसम्म जनताले लोडसेडिङ भोग्नुपर्ने छैन। ढुक्क भए हुन्छ।’
कुलमानले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगमा भने अब आवश्यकता अनुसार काट्ने बताए।
‘भारतले पिक आवरमा नदिएकाले उद्योगहरुलाई भने राति बिजुली दिन समस्या भइरहेको छ। त्यसैले अब डेडिकेटेड र ट्रंक लाइनको पैसा नतिर्ने उद्योगमा भने आवश्यकता अनुसार हामी कटौती गर्छौं। त्यसका लागि हामीले प्राथमिकीकरण गरेका छौं। प्राधिकरणको लोड डिस्प्याच सेन्टरले काम गरिरहेको छ,’ उनले भने।