फिनल्याण्ड पुगेर जेलेन्स्कीले भने- हामी यो युद्ध जित्नेछौं
काठमाडौँ - सैन्य सहयोगको बारेमा छलफल गर्न फिनल्याण्ड पुगेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन र फिनल्याण्ड दुवैले रुसको छिमेकी हुनु कस्तो हुन्छ भन्ने कुरा बुझेको बताएका छन् ।
जेलेन्स्कीले शान्तिको लागि रुसमाथि सामूहिक दबाब दिन आवश्यक रहेको बताउदै सम्पूर्ण युरोपले एकताबद्ध रूपमा आफ्नो रक्षा गर्नुपर्ने बताए ।
उनले भने, 'वास्तविकता पुटिनले भनेको भन्दा धेरै फरक छ । हामी हाम्रो सार्वभौमिकता र हाम्रो स्वतन्त्रताको लागि लडिरहेका छौं, हामी यो युद्ध जित्नेछौं ।' जेलेन्स्कीले भने- 'रूस चाहन्छ, हाम्रा सहयोगीहरूले हामीलाई सहयोग गर्न बन्द गरून्, ताकि युक्रेन कमजोर होस् । यदि पुटिन साँच्चै शान्ति चाहन्छन् भने, उनी हाम्रो सेनालाई किन कमजोर बनाउन चाहन्छन् ?'
यसैबीच, फिनल्याण्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टबले युक्रेनलाई आफ्नो रक्षा गर्ने पूर्ण अधिकार रहेको र यस अधिकारमा कुनै पनि प्रतिबन्ध लगाउन नसकिने बताए । 'युक्रेन, युरोप र अमेरिका शान्ति चाहन्छन्, तर रूसले पनि त्यो चाहन्छ कि चाहँदैन भनेर हेर्न बाँकी छ । यदि रूस तयार भएन भने, वार्ता गर्न बाध्य पार्न थप दबाब दिनुपर्नेछ,' स्टबले भने ।
स्टबले पुटिन र ट्रम्प बीचको कुराकानीलाई 'सही दिशामा एक कदम' भनेका छन् । स्टबले थप भने, 'ट्रम्प रक्तपात रोक्न चाहन्छन् र उनी सही छन् ।' उनले युक्रेनले बिना शर्त युद्धविराम स्वीकार गरेपनि पुटिनले त्यसलाई अस्वीकार गरेको बताए ।