विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल, प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिलाई टेलिफोन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन्।
प्रधानमन्त्रीनिवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले आज बिहीबार संवाद गरी सो आग्रह गरेका हुन्। जवाफमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिई पहल गर्ने बताए।
प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुराकानी गरेका थिए।
आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराए। संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुई देशबिचको परस्पर सम्बन्ध विस्तारबारे कुराकानी भएको थियो।