चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र रूपमा स्ववियु सभापति निर्वाचित अधिकारी अखिल क्रान्तिकारी प्रवेश
चितवन - चितवनको चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र रूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति निर्वाचित प्रज्वल अधिकारीले अखिल (क्रान्तिकारी) प्रवेश गरेका छन्।
अधिकारीलाई बिहीबार (आज) सङ्गठनको मातृपार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरेका छन्। गत चैत ५ गते सम्पन्न मतदानबाट अधिकारी क्याम्पसको स्ववियु सभपाति निर्वाचित बनेका हुन्।
क्रान्तिकारी प्रवेशपछि अधिकारीले आफूलाई जिताउने सबैलाई धन्यवाद दिँदै संयुक्त प्यानलको प्रतिबद्धता पत्रअनुसारनै आफूले विद्यार्थीको हक र हितको लागि लड्ने बताएका छन्।
अधिकारीको प्रवेशसँगै क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसतर्फ जितेको क्याम्पसको सङ्ख्या ९ पुगेको छ। तर, क्रान्तिकारीका नेताहरूले भने आफ्नो सङ्गठनले जितेको क्याम्पसको सङ्ख्या १० पुगेको दाबी गरेका छन्।
क्रान्तिकारीका महासचिव रोशन थापा मगरले केन्द्रीय प्रविधि क्याम्पस, धरानमा स्वतन्त्र रूपमा जितेका पेशल राज कार्की पनि क्रान्तिकारीकै नेता भएको दाबी गर्छन्।
क्रान्तिकारीकै तर्फबाट उम्मेदवारी दिएर भने अहिलेसम्म ८ जनाले जितेका छन्। त्यसमा स्नातकोत्तर क्याम्पस, विराटनगर, नर्सिङ क्याम्पस, विराटनगर, भोजपुर बहुमुखी क्याम्पस, भोजपुर, सानोठिमी क्याम्पस, भक्तपुर, जनप्रशासन क्याम्पस, बल्खु काठमाडौं, गोरखा क्याम्पस, गोरखा, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर रहेका छन्।