ज्ञानेन्द्र शाही, जो किलोमिटर र वर्गकिलोमिटर, व्यक्ति र विचारको फरक जान्दैनन् तर गल्ती मान्दैनन्
नेपाली राजनीतिमा ज्ञानेन्द्र शाही एक परिचित नाम हो । उनको उर्जावान प्रस्तुति, आम मानिसले बुझ्ने भाषा र संसदमा देखाउने आक्रामक शैलीले धेरैको ध्यानाकर्षण गरेको छ । राप्रपाबाट सांसद बनेका शाहीले आफूलाई जनताको पक्षमा बोल्ने नेताको रूपमा प्रस्तुत गर्छन् ।
तर, उनको लोकप्रियता र प्रस्तुति शैलीको पछाडि एउटा गम्भीर समस्या छ—तथ्य र तर्कको अभाव । उनले बारम्बार यस्ता कुराहरू उठाउँछन्, जसमा न तथ्य हुन्छ, न त तार्किक आधार । विशेष गरी किलोमिटर र वर्गकिलोमिटरको भ्रम, व्यक्ति र विचारबीचको फरक नबुझ्ने प्रवृत्ति र आफ्ना गल्तीहरू स्वीकार नगर्ने अडानले उनको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।
किलोमिटर र वर्गकिलोमिटरको भ्रम
ज्ञानेन्द्र शाहीले केही समयअघि सामाजिक सञ्जालमा भरतपुर महानगरपालिकाको क्षेत्रफल र सडक निर्माणको विषयलाई लिएर एउटा विवादास्पद पोस्ट लेखेका थिए । उनले लेखे, "भरतपुर माहानगरपालिका चितवनको जम्मा क्षेत्रफल ४३३ बर्ग किमि छ हैन हो रेणु दाहालले ३ बर्षमा कसरी ६१० कि.मि बाटो पिज गरिछन हो बांकी २२३ कि.मि बाटो आफनो मालिक एंबम मुल घर भारतमा बाटो पिज गरिन कि के हो?" यो अभिव्यक्तिमा उनले क्षेत्रफल (वर्ग किलोमिटर) र सडकको लम्बाइ (किलोमिटर) बीचको आधारभूत फरक बुझ्न सकेनन् ।
क्षेत्रफल र लम्बाइको आधारभूत फरक
क्षेत्रफल (वर्ग किलोमिटर): यो कुनै स्थानको लम्बाइ र चौडाइमा फैलिएको आकार मापन गर्ने एकाइ हो । उदाहरणका लागि, भरतपुर महानगरपालिकाको क्षेत्रफल ४३३ वर्ग किलोमिटर छ भने यो त्यसको समग्र भूभागको आकार हो ।
लम्बाइ (किलोमिटर): यो सडक, नदी वा कुनै रेखाको दूरी मापन गर्ने एकाइ हो । सडकको लम्बाइ क्षेत्रफलसँग सीधै तुलना गर्न सकिँदैन किनकि सडकहरू घुमाउरा, साँघुरो वा चौडा हुन सक्छन् । एउटा सानो क्षेत्रफलमा पनि सडकको लम्बाइ धेरै हुन सक्छ । त्यस्तै ५ किलो मिटर लम्बाइ र १ किलो मिटर चौडाइ भएको खेतमा सिधा सिधा ५० वटा बाटो बनाउने हो भने सबै बाटोको लम्बाइ २५० किलोमिटर हुन्छ । तर त्यो खेतको क्षेत्रफल भने ५ वर्गकिलोमिटर मात्रै हुन्छ । ५ वर्गकिलोमिटरमा २५० किलोमिटरका बाटा कसरी बन्छन् भन्नु चै हास्यास्पद हो । यो हिसाब कक्षा ६ मा पढाइ हुन्छ ।
गल्ती स्वीकार गर्नुको सट्टा बहाना
जब सामाजिक सञ्जालमा उनको यो अज्ञानताको आलोचना भयो, शाहीले आफ्नो गल्ती स्वीकार गर्नुको सट्टा अर्को पोस्ट लेखे । उनले भने, "मित्रहरू तर्क माथि तर्क गरेर जित र हार गर्ने लडाइँको मैदान होईन यो सामाजिक सन्जाल! यहाँ त बिबेक, लजिक र सर्वमान्य मान्यतालाई पनि मियो बनाएर केही कुरालाई बुझ्न र आत्मसाथ गर्न जरुरी छ ।" उनले थपे, "लाटाले जान्ने र बहिराले सुन्न सक्ने कुरा हुन कि ६१० किमि मा कति जमिन ओगटिएको हुन्छ? भलै गणीतिय हिसाबले ज्यामितिको साध्य प्रमाणित गरे जसरी यि सडक सन्जालमा गर्न नसकिएला तर बिबेक र लजिक मात्रै लगाएर बुझ्ने हो भने के यो साच्चिकै सम्भव छ त??"
जवाफमा उनले गणितीय तथ्यलाई बेवास्ता गर्दै "बिबेक" र "लजिक" को सहारा लिएका थिए । तर, उनको तर्कमा कुनै वैज्ञानिक आधार छैन । क्षेत्रफल र लम्बाइबीचको फरकलाई नबुझेर उनले अनावश्यक विवाद खडा गरे र आफ्नो अज्ञानतालाई ढाकछोप गर्ने प्रयास गरे ।
व्यक्ति र विचारको फरक नबुझ्ने प्रवृत्ति
शाहीको अर्को अज्ञानता पनि रहेछ, व्यक्ति र विचार भनेको एकै हो । हिजो संसदमा उनले व्यक्ति र विचारबारेमा एउटा विवादास्पद भनाइ राखे । उनले भने, "राजतन्त्रलाई भुतप्रेत भन्नेहरूले, राजा कहिलै फर्किदैन भन्नेहरूले मार्क्सवाद र माओवाद चै किन मानेको? मार्क्स र माओ जसको अस्तु पनि भेटिदैन, त्यो चै फर्केर आउँछ?"
व्यक्ति र विचारको भिन्नता
व्यक्ति: कार्ल मार्क्स र माओ त्से तुङ दुई ऐतिहासिक व्यक्तित्व हुन्, जसको मृत्यु भइसकेको छ । उनीहरू फर्केर आउने कुरा असम्भव छ ।
विचार: मार्क्सवाद र माओवाद ती व्यक्तिले प्रतिपादन गरेका विचारधारा हुन् । यी विचारधारा कुनै व्यक्तिको जीवनमा निर्भर रहँदैनन् । ती आज पनि विश्वभर अध्ययन र अनुसरण गरिन्छन् ।
शाहीले यहाँ मार्क्सवाद र माओवादलाई व्यक्ति विशेषसँग जोडेर हेरे, जुन गलत छ । त्यस्तै, उनले राजतन्त्रलाई पनि एउटा व्यक्तिको रूपमा मात्र देखे । वास्तवमा राजतन्त्र एउटा शासन प्रणाली हो, जसको पुनर्स्थापना सम्भव छ वा छैन भन्ने कुरा राजनीतिक बहसको विषय हो । तर, उनको यो अभिव्यक्तिले उनको दार्शनिक र राजनीतिक ज्ञानको कमजोरी उजागर गर्छ । महेन्द्रवाद भन्ने राजावादीहरूले महेन्द्र फर्काउन चाहेका होइनन् भन्ने त सबैलाई थाहा हुन्छ नै ।
गल्ती स्वीकार नगर्ने प्रवृति
ज्ञानेन्द्र शाहीको सबैभन्दा ठूलो समस्या उनको गल्ती स्वीकार नगर्ने प्रवृत्ति हो । चाहे त्यो किलोमिटर र वर्गकिलोमिटरको भ्रम होस् वा व्यक्ति र विचारको फरक नबुझ्ने कुरा, उनी सधैं आफ्नो अडानमा अडिग रहन्छन् । आफुले गल्ति गरेछु, बोलेछु भन्ने आत्मलोचना नगरि उल्टै सहि कुरा गर्ने प्रति बिषबमन गर्छन् । यो बानीले उनको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको छ ।
उदाहरणहरू
सीए पास गरेको दाबी: शाहीले आफूलाई चार्टर्ड एकाउन्टेन्ट (सीए) पास गरेको दाबी गरेका छन् । तर, वास्तवमा उनले सीए पास गरेका छन् कि छैनन् भन्ने सार्वजनिक पुष्टि भएको छैन । सामाजिक सञ्जालमा यो बिषयमा पटक पटक प्रश्न उठे पनि शाहीले प्रमाण सार्वजनिक गरेका छैनन् ।
भारतीय सेनाको हतियार किनबेचको हिसाब जाँच गरेको दाबी: उनले भारतीय सेनाको हतियार किनबेचको दस्तावेज बनाउने जिम्मा पाएको सम्म भनेका छन्, जुन कुरा प्रमाणित भएको छैन । यो उनको अतिरञ्जित दाबीको एउटा उदाहरण हो ।
राजतन्त्रको मुद्दा: कुनै बेला राजतन्त्रको विरोधी रहेका शाहीले राप्रपाको टिकट पाएपछि एकाएक राजावादी बने । चुनावताका उनले "मैले राजा ल्याउने होइन" भनेर भोट मागेका भिडियोहरू सार्वजनिक छन् । तर, अहिले उनी गणतन्त्रले सबै बिगारेको भन्दै तथ्य र स्रोत बिना बोल्छन् ।
यी उदाहरणहरूले देखाउँछन् कि शाही आफ्ना कुराहरूलाई प्रमाणित गर्नुभन्दा उडन्ते र असान्दर्भिक तर्कमा जोड दिन्छन् । जब उनको आलोचना हुन्छ, उनी गल्ती स्वीकार गर्नुको सट्टा अझै जिद्दी गर्छन् ।