Nic Ad Nic Ad
Nic Ad Nic Ad

ह्वाट्सएपमार्फत् चिट चोराउने दुई निरीक्षक पक्राउ

शुक्रबार, चैत ८, २०८१

काठमाडौँ - ह्वाट्सएपमार्फत् चिट चोराउने कार्यमा संलग्न दुई निरीक्षकलाई बारा प्रशासनले पक्राउ गरेको छ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा डिजिटल प्रविधिको दुरुपयोग गर्दै चिट चोर्ने नयाँ तरिका अपनाइएको खुलेको हो।

samridhi jewllers

बारा प्रशासनले आज बिहान कलैया उपमहानगरपालिका–१ स्थित पन्नादेवी कन्या मावि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक रञ्जु कुमारी र रनिङ गार्ड सौरभलाई नियन्त्रणमा लिएको हो। उनीहरूले डिजिटल माध्यम प्रयोग गरी परीक्षार्थीलाई चिट उपलब्ध गराएको खुलेको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीका अनुसार पक्राउ परेकाहरूले गल्ती स्वीकार गरिसकेका छन् र उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

ह्वाट्सएपमार्फत् यसरी चोराइयो चिट ?
प्रजिअ अधिकारीका अनुसार परीक्षाको अनुगमनका क्रममा शंका लागेपछि निगरानी बढाइएको थियो। अनुसन्धानका क्रममा निरीक्षक रञ्जु कुमारी र रनिङ गार्ड सौरभले ‘साथी’ नामक ह्वाट्सएप ग्रुप बनाइ परीक्षामा चिट चोर्ने योजनामा संलग्न रहेको खुलासा भयो।

‘उनीहरूले प्रश्नपत्रको फोटो खिचेर सो ग्रुपमा पठाउने, त्यसपछि उत्तर प्राप्त गरी परीक्षार्थीलाई उपलब्ध गराउने गरेका थिए,’ प्रजिअ अधिकारीले प्रशासनलाई जानकारी दिए। तर, आज उत्तर परीक्षार्थीहरूसम्म पुग्न नपाउँदै प्रशासनले उनीहरूलाई मोबाइलसहित नियन्त्रणमा लिएको हो।

अधिकारीका अनुसार निरीक्षक रञ्जु कुमारीले सोही परीक्षा केन्द्रबाट परीक्षा दिइरहेकी आफ्नी छोरीलाई चिट दिन उक्त ह्वाट्सएप ग्रुपको प्रयोग गरेकी थिइन्।

‘यस घटनाले एसईई परीक्षामा डिजिटल माध्यमबाट समेत चिट चोर्ने प्रवृत्ति मौलाएको देखाएको छ,’ प्रजिअ अधिकारीले भने, ‘अन्य केन्द्रहरूमा पनि यस्तो हुनसक्ने भएकाले निगरानी बढाउन आवश्यक छ।’

हाल उनीहरूलाई हिरासतमा राखिएको छ र थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्