Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने

शुक्रबार, चैत ८, २०८१

काठमाडौँ- गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्रीसहित मुलुकभरका स्थानीय तहमा आपत्कालीन गोदामहरूको व्यवस्थापन गर्न पहल अघि बढाएको छ ।

samridhi jewllers

शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरणको कार्यलाई प्रभावकारी बनाउन जोखिमको नक्सांकन, सुरक्षित बा स्थान निर्माण, पूर्व तयारी, प्रतिकार्य, पुर्नलाभ, पुनर्स्थापनाका कार्यहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिहरूले समन्वयात्मक रूपमा कार्य गर्ने निर्णय समेत भएको छ ।

त्यसैगरी बैठकमा नगर प्रहरीको क्षमता विकासमा माग अनुसार नेपाल प्रहरीले सहयोग गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता/सहसचिव रामचन्द्र तिवारीले जानकारी दिनुभयो । त्यस्तै पछिल्लो समय बढ्दै गएको लागू औषध दुर्व्यसन, आत्महत्या, सडक दुर्घटना, साइबर अपराध लगायतका सुरक्षा चुनौतीको न्यूनीकरण गर्दै नागरिकको जिउधन र सम्पत्तिको सुरक्षा गर्न नीति कार्यक्रम तथा पूर्वाधार निर्माणमा सहकार्यलाई थप सुदृढ बनाइने छ ।

प्रहरी समायोजनको कार्यलाई निष्कर्षमा पुर्‍याउन आवश्यक कानून परिमार्जन तथा व्यवस्थापकीय तयारीको कार्यलाई गृह मन्त्रालयले प्रदेश सरकारसँग समन्वय अगाडि बढाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

“देशको समग्र शान्ति सुरक्षाको अवस्था र प्रादेशिक रूपमा देखिएका सुरक्षा चुनौतीहरूको विश्लेषण तथा समीक्षा गरिएको छ ।” प्रवक्ता तिवारीले भने,“ बैठकमा भएका निर्णय र प्राप्त सुझावसहितको प्रतिवेदन राष्ट्रिय समन्वय परिषदमा पठाइनेछ ।”

पछिल्ला दिनमा देखिएका संविधान तथा व्यवस्था विरोधी गतिविधीहरुलाई निस्तेज गर्दै विद्यमान सुरक्षा चुनौतीहरूको सुरक्षात्मक निगरानी तथा नियन्त्रण गर्दै आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन गृह मन्त्रालय र प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरुबीचको सहकार्यलाई प्रभावकारी बनाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले प्रादेशिक आपतकालिन गोदामहरू प्रदेश सरकारलाई हस्तान्तरण थालिएको जानकारी दिए । “ कर्णाली र सुदूरपश्चिम प्रदेशमा हामीले प्रदेश सरकारलाई गोदामघरहरु हस्तान्तरण गरिसकेका छौँ ।” उनले भने,“ अरु प्रदेशमा पनि हस्तान्तरण गर्ने र पालिका स्तरसम्म गोदामहरू सञ्चालनमा ल्याउने गरी प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक छ ।”

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछाने, नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी पाण्डे, गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी, प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. दिनेश भट्ट लगायतले  धारणा राखेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्