आइपिएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र आरसीबि खेल्दै
काठमाडौँ - इन्डियन प्रिमियर लिग (आइपिएल) को १८औं संस्करण आजदेखि सुरु हुदै छ ।
यस सिजनको आइपिएलको उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुदै छन् । पहिलो खेलमा आज डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबि) बीच हुदै छ । यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदै छ ।
यस सिजनमा १० फ्रेन्चाइजीले खेल्दै छन् । गत डिसेम्बरमा मेगा अक्सनपछि यस सिजनमा केहि हाई प्रोफाइल खेलाडीको फ्रेन्चाइजी परिवर्तन भएको छ । जसमा ऋषव पन्तले दिल्ली क्यापिटल्स छोडेर लखनउ सुपरजाइन्ट पुगेका छन् । त्यस्तै यसअघि लखनउबाट खेलिरहेका केएल राहुल दिल्ली पुगेका छन । त्यस्तै कोलकोता नाइट राइडर्सलाई गत सिजनमा उपाधि जिताएका श्रेयस अय्यर यस पटक पञ्जाव किंग्समा पुगेका छन् ।
त्यसैगरी यस सिजनमा केहि फ्रेन्चाइजीको कप्तान पनि परिवर्तन भएका छन् । जसमा कोलकोताले आजिख्य रहानेलाई कप्तान बनाएको छ भने दिल्लीले अक्षर पटेललाई कप्तान बनाएको छ । त्यस्तै लखनउको कप्तानी ऋषवले गर्दै छन् भने पञ्जावको कप्तानी अय्यरले गर्दै छन् ।
प्रतियोगिता मार्च २२ मा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेलिने पहिलो खेलबाट सुरु हुनेछ । यस वर्ष, ६५ दिनमा १३ वटा स्थानमा १० टोलीहरू बीच कुल ७४ खेलहरू खेलाइनेछ, जसमा ७० लिग राउन्ड र चार प्लेअफ खेलहरू समावेश छन् । फाइनलसहित सबै प्लेअफ खेलहरू मे २० देखि २५ सम्म हैदराबाद र कोलकातामा खेलाइनेछ ।
अहिलेसम्म उपाधि विजेता
२००८ मा सुरु भएको यो प्रतियोगिता टि-२० क्रिकेटको विश्वकै ठुलो टी-२० क्रिकेट प्रतियोगिताको रुपमा स्थापित भएको छ ।
आइपिएलको डिफेन्डिङ च्याम्पियन भने कोलकोता नाइट राइडर्स हो । आइपिएलको उपाधि अहिलेसम्म चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सले सबैभन्दा बढी ५-५ पटक जितेका छन् । चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो भने मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो ।
त्यस्तै कोलकता नाइट राइडर्सले ३ पटक आइपिएल जितेको छ । कोलकोताले २०१२, २०१४ र २०२४ मा उपाधि जितेको थियो ।
त्यस्तै गुजरात टाइटन्सले २०२२ मा, राजस्थान रोयल्सले २००८ मा, सनराईजर्स हैदरावादले २०१६ मा र डेकन चार्जरले २००९ मा गरी एक एक पटक आइपिएलको उपाधि जितेका छन् । त्यस्तै नियमित आइपिएल खेलिरहेका दिल्ली क्यापिटल्स, पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैन्ग्लुरु (आरसीबी) ले अहिलेसम्म आइपिएल जित्न सकेका छैनन् । त्यस्तै २ सिजन खेलेको लखनउ सुपर जाइन्ट, एक सिजन खेलको राइजिंग पुने सुपर जाइन्ट, गुजरात जाइन्टले पनि आइपिएल उपाधि जित्न असफल भएका छन् ।