एसईईमा चिट चोराएको भेटिएपछि चार जना निरीक्षक निष्कासित
सुनसरी - माध्यमिक शिक्षा परीक्षा (एसईई)को दोस्रो दिन शुक्रबार सुनसरीका दुई परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई निष्कासन गरिएको छ ।
दुहबी नगरपालिका परीक्षा केन्द्र रहेको सरस्वती माध्यमिक विद्यालय र गढी गाउँपालिका परीक्षा केन्द्र रहेको सरस्वती माध्यमिक विद्यालयबाट दुई/दुई जना निरीक्षकलाई निष्कासन गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
प्रजिअ मिश्रको नेतृत्वमा गएको टोलीले अनाधिकृत गतिविधि गरेको र विषयगत शिक्षक राखेर चिट चोराएको भेटिएपछि निष्कासन गरिएको उनले जानकारी दिए । दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आइन्दा त्रुटि नगर्न सचेतसमेत गरिएको प्रजिअ मिश्रले जानकारी दिए । परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक ‘सकुर्लर’ गरिएको प्रजिअ मिश्रले बताए ।
सुनसरीका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिए ।