भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षणमा राष्ट्रपतिको जोड
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा उत्पन्न हुनसक्ने जलसंकटको चुनौतीलाई दृष्टिगत गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण हुनुपर्नेमा जोड दिएका छन्।
विश्व पानी दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण एवं सहरी क्षेत्रमा वर्षात्को पानी पुनर्भरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्नेमा जोड दिएका छन्।
'प्राचीन एवं आधुनिक प्रविधिको मिश्रण गरी जलाशययुक्त योजनाको तर्जुमा गर्न आवश्यक छ', राष्ट्रपतिले सन्देशमा भनेका छन्।
पानी र प्रकृतिसँग प्राणी जगत्को अस्तित्व गाँसिएको, जीवको उत्पत्ति नै पानीभित्र भएको र प्राचीन मानव सभ्यताहरू नदीकिनारमा विकास भए पनि वर्तमानमा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण चुनौतीपूर्ण बनेको सन्देशमा उल्लेख छ।
राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, 'भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो, जसले पारिस्थितिकीय प्रणालीलाई दिगो र नदीको बहावलाई व्यवस्थित बनाउन तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणसँगै सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पुर्याउँछ।'
उनले बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवं प्रदूषणका कारण पानीका स्रोत नष्ट भइरहेकामा चिन्ता व्यक्त गरेका छन्। 'भूमिगत जलस्रोतको अतिदोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाको कारण पुनर्भरणमा अवरोध उत्पन्न हुँदा जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको छ। अव्यवस्थित मानव बस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएको छ ', सन्देशमा भनिएको छ।
राष्ट्रपतिले जलस्रोत र नदी प्रणालीको संरक्षण गर्दै समयमै पूर्वसूचना प्रणालीको मद्दतबाट प्राकृतिक विनास तथा जनधनको क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गरे। उनले पानीको संरक्षण र सदुपयोगमार्फत दिगो विकासका लक्ष्य परिपूर्ति गर्न विश्व पानी दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
पानीको महत्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व पानी दिवसका रूपमा मनाउन थालिइएको हो। यसवर्ष ‘हिमनदी संरक्षण’ नाराका साथ आज देशका वभिन्न भागमा चेतनामूलक विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ।