‘राजागंज’ दोस्रो हप्तामा, दर्शकको माया बढ्दै
काठमाडौ - चैत १ गतेबाट प्रदर्शनमा आएको फिल्म 'राजागंज' राम्रो माउथ पब्लिसिटीका कारण दोस्रो हप्तामा प्रवेश गरेको छ। समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि काठमाडौँका हलहरूले शो संख्या थपेका छन्।
सामाजिक, राजनीति र सांस्कृतिक यथार्थमा आधारित 'राजागंज'ले एक सशक्त कथावस्तु प्रस्तुत गर्छ। फिल्मको केन्द्रमा रहेको गाउँ ‘राजागंज’ सामाजिक विभाजन, अन्याय र राजनीतिक चलखेलको सिकार बनेको देखाइन्छ। मुख्य पात्रले यी समस्याहरू विरुद्ध लड्ने प्रयास गर्छ तर परिवर्तन ल्याउने यात्रामा ऊ विभिन्न चुनौतीहरू सामना गर्न बाध्य हुन्छ। मधेशी समाजको वास्तविकता, संघर्ष र आशालाई चित्रण गर्ने यस कथाले दर्शकलाई गहिरो रूपमा जोड्ने प्रयास गरेको छ।
फिल्मले सामाजिक तथा राजनीति कथालाई यथार्थपरक ढंगले प्रस्तुत गरेको भन्दै समीक्षकहरूले प्रशंसा गरेका छन्। दर्शकहरू फिल्मको कथा, अभिनय र निर्देशनबाट प्रभावित भएका छन्। सामाजिक सञ्जालमा पनि फिल्मको सकारात्मक चर्चा भइरहेको छ।
निर्देशक दीपक रौनियारले दर्शकको मायाप्रति आभार व्यक्त गर्दै भने, " नेपाली समाजको वास्तविक कथा पर्दामा ल्याउने हाम्रो प्रयासलाई दर्शकले खुलेर स्वीकार्नुभएको छ। नेपाली फिल्ममा विविध कथाहरू आउनुपर्छ र राजागंज त्यसैको एउटा कोसिस हो।"
हलहरूमा दर्शकको चाप बढ्दै गएपछि प्रदर्शकहरूले शो संख्या थपेका छन्।