Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोही पनि केही गर्न डराउन पर्दैन, देशको शान्ति कायमै होस् : ज्ञानेन्द्र शाह

शनिबार, चैत ९, २०८१

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको बताएका छन् । गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कसैले कसैको पनि कुभलो चिताउन नहुने बताएका छन् ।

samridhi jewllers

‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ । कोही पनि केही गर्न डराउन पर्दैन । देशको शान्ति कायमै होस्, देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ,’ उनले भने ।

धेरै वर्षपछि आफ्नो पुर्खाको थलो गोरखा आउँदा खुशी लागेको उनले बताएका छन् । शाहले भने, ‘गोरखा आएर मलाई खुशी लाग्यो आफ्नो जन्म थलो त होइन तर पुर्खाको थलो हो । सबैलाई भेट्दा पनि खुशी लागेको छ ।’

गोरखकाली र गोरखनाथमा पूर्वराजाको दुई घण्टा पूजा
पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार गोरखास्थित गोरखकाली र गोरखनाथको पूजाआजा गरेका छन् । शनिबार बिहान १० बजे गोरखा पुगेका उनले राजदरबारका कुलदेवता भनेर चिनिने गोरखकाली र गोरखनाथको पूजाआजा गरेका हुन् । बिहान १० बजेदेखि १२ बजे दुई घण्टासम्म पूजाआजा गरी दिउँसो १ बजे गोरखाबाट फर्किसकेका छन् ।

शुक्रबार साँझ चितवन, कुरिनटारको रिभरसाइड रिसोर्टमा बसेर शनिबार बिहान ९ बजे आँबुखैरेनी आइपुगेका उनलाई राजावादी व्यक्ति, संस्था तथा पार्टीहरूले स्वागत र मोटरसाइकल ¥याली गरी १० बजे गोरखा लगेका थिए । पूजाआजा सकेपछि दिउसो १ बजे उनले गोरखाको ठूलोआँगन र सङ्ग्रहालयमा स्थानीयबासीको भेटघाट तथा स्वागत ग्रहण गरेका थिए ।

शाह बा २१ च ७३१८ नम्बरको गाडीमा पृथ्वी राजमार्ग हुँदै गोरखा आएका हुन् । शनिबार चैत्रकृष्ण अष्टमी तथा गोरखकाली पूजा पर्व रहेको थियो । सोही अवसर पारेर पूर्वराजा शनिबार जिल्ला आएका हुन्। उनी शनिबार अपराह्न चितवन, कुरिनटारस्थित सोही रिसोर्टमा फर्किएका छन् ।

आइतबार बिहान गोरखास्थित अर्को प्रसिद्ध मनकामना मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । पूर्वराजाको भ्रमणको आन्तरिक व्यवस्थापन गर्न गोरखामा १५१ सदस्यीय नागरिक समाज गठन गरिएको थियो । राजावादीको सञ्जालबाट भगवानदास मल्लको नेतृत्वमा स्वागत समिति गठन गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्