Nic Ad Nic Ad
Nic Ad Nic Ad

लियोनले क्लब वर्ल्डकप खेल्न नपाउने

शनिबार, चैत ९, २०८१

काठमाडौं- मेक्सिकोको क्लब लियोन शुक्रबार क्लब वर्ल्डकपबाट बाहिरिएको छ। फिफाको अपिल समितिले बहु–क्लब स्वामित्वसम्बन्धी नियम उल्लंघन गरेको ठहर गर्दै लियोनको सहभागितालाई अस्वीकार गरेको हो।

samridhi jewllers

लियोन र अर्को मेक्सिकन क्लब पाचुका दुवै यस वर्षको क्लब वर्ल्डकपका लागि छनोट भएका थिए। तर, यी दुवै क्लब एकै मालिक ग्रुपो पाचुकाअन्तर्गत रहेका कारण फिफाले प्रतिबन्ध लगाएको हो।

‘सबै प्रमाणको समीक्षा गरेपछि फिफा अपिल समितिका अध्यक्षले सिएफ पाचुका र क्लब लियोनले बहु–क्लब स्वामित्वसम्बन्धी मापदण्ड पूरा नगरेको निष्कर्ष निकालेका छन्,’ फिफाले विज्ञप्तिमा जनाएको छ।

लियोनको ठाउँमा कुन टोलीलाई समावेश गरिने भन्ने निर्णय भने अहिलेसम्म भएको छैन। अपिलका क्रममा ग्रुपो पाचुकाले क्लबहरू स्वतन्त्र रूपमा सञ्चालन भइरहेको दाबी गरेको थियो। साथै उसले लियोन बेच्ने प्रतिवद्धता जनाएको थियो। तर, अहिलेसम्म बिक्री प्रक्रिया पूरा भइसकेको छैन।

ग्रुपले विज्ञप्ति जारी गर्दै फिफाको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ। अन्तर्राष्ट्रिय खेल अदालतमा मुद्दा लैजाने धम्कीसमेत दिएको छ।

‘हामी यो निर्णयबाट असन्तुष्ट छौं। हाम्रो प्रशासनिक स्वतन्त्रता प्रमाणित गर्ने सबै प्रमाण समयमै र पारदर्शी रूपमा प्रस्तुत गरिएका थिए,’ ग्रुपो पाचुकाले भनेको छ,‘हामी मैदानमा जितेको अधिकारको रक्षा गर्नेछौं।’

लियोनले हालै मात्र कोलम्बियन मिडफिल्डर जेम्स रोड्रिग्वेजलाई अनुबन्ध गरेको थियो। उनी आबद्द भएसँगै ब्राजिलको फ्लामेङ्गो, टुनिसियाको एस्पेरन्स स्पोर्टिभ ट्युनिस र इङ्ल्यान्डको चेल्सी रहेको ग्रुप डी मा प्रतिस्पर्धात्मक उपस्थिति रहने अपेक्षा गरिएको थियो।

मेक्सिकोमा लियोन र पाचुका मात्रै होइन अन्य कम्पनीहरूले पनि दुई या बढी क्लब स्वामित्वमा राखेका छन्।

ग्रुपो कालेन्टेले टिजुआना र क्वेरेतारो हेरिरहेको छ। ग्रुपो ओरलेगीले एटलास र सान्टोसकाको स्वामिक्त छ। यस्तै, टिभी अझ्टेकासँग माजाट्लानको पूर्ण स्वामित्व र पुएब्लाको आंशिक स्वामित्व छ।

फिफाले गत नोभेम्बरमा क्लब वर्ल्डकपका लागि नयाँ नियम लागू गर्ने घोषणा गरेपछि मेक्सिकन लिगका मालिकहरूले बहु–क्लब स्वामित्व अन्त्य गर्ने निर्णय गरेका थिए। तर, उनीहरूलाई २०२७ सम्मको समयसीमा दिइएको छ।

कोस्टारिकाको क्लब अलाजुएलेन्सको उजुरी
फिफाले क्लब वर्ल्डकपमा एउटै स्वामित्व भएका दुई क्लबको सहभागिता रोक्नुपर्ने माग गर्दै कोस्टारिकाली क्लब अलाजुएलेन्सले उजुरी दिएको थियो।

‘फिफाको निर्णयले हाम्रो प्रारम्भिक दाबीलाई सही प्रमाणित गरेको छ। प्रतिस्पर्धा निष्पक्ष र पारदर्शी हुनुपर्छ,’ अलाजुएलेन्सले आफ्नो विज्ञप्तिमा भनेको छ,‘हामी अन्तर्राष्ट्रिय खेल अदालतको फैसलाको प्रतीक्षा गरिरहेका छौं, ताकि न्याय होस् र नियमहरूको पालन होस्।’

क्लब वर्ल्डकपमा कोन्काफ (उत्तर, मध्य अमेरिका तथा क्यारेबियन फुटबल महासंघ) बाट क्लब वर्ल्डकपमा सिएटल साउन्डर्स, मोन्टेरे, लियोन र पाचुका छनोट भएका थिए। साथै लिओनल मेसीसम्मिलित इन्टर मियामीलाई फिफाले विशेष निम्तो दिएको थियो।

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्