आइपिएलमा आज दुई खेल हुदै, सुपर सन्डेमा चेन्नई र मुम्बईको भिडन्त
काठमाडौँ -शनिबारदेखि शुरु भएको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज दुई खेल हुदै छन् । आज पहिलो खेल सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच हैदरावादमा हुदै छ । यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदै छ ।
पाट कमिन्सको नेतृत्वमा रहेको सनराइजर्स आइपिएलमा आक्रामक ब्याटिंगका लागि परिचित रहेको छ । भारतका अभिषेक शर्मा, अस्ट्रेलियाका ट्रेभिस हेडको आक्रामक ब्याटिंग यस आइपिएलको प्रमुख आकर्षण हुने निश्चित छ । त्यस्तै मेगा अक्सनबाट आएका इशान किशन, मोहमद शामी जस्ता भारतीय खेलाडीले सनराइजर्सलाई यस पटक उपाधिको बलियो दाबेदार बनाएको छ ।
गत सिजनमा उपविजेता भएको सनराइजर्सले पछिल्लो पटक २०१६ मा उपाधि जितेको थियो ।
त्यस्तै राजस्थान रोयल्सले आइपिएलमा राम्रो क्रिकेट खेल्दा खेल्दै पनि महत्वपूर्ण खेलमा चुक्दा पहिलो सिजन २००८ जितेपछि अहिलेसम्म उपाधि जित्न सकेको छैन । गत सिजनमा प्लेअफ खेलेको राजस्थान यस पटक नियमित कप्तान सन्जु सामसन पूर्ण फिट नभएकाले रायन परागले राजस्थानका शुरुका केहि खेलमा कप्तानी गर्ने भएका छन् । यद्यपी संजु सामसन खेल भने खेल्ने बताइएको छ ।
हेड टु हेडको कुरा गर्दा दुवै बीच आइपिएलमा अहिलेसम्म २० खेल भएका छन् । जसमा सनराइजर्सले ११ खेल जितेको छ भने राजस्थानले ९ खेल जितेको छ ।
त्यसैगरी आज दोस्रो खेल आइपिएलका सबैभन्दा ठुला प्रतिद्वन्दी चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच चेन्नईमा हुदैछ ।
रुतुराज गायकवाडको कप्तानीमा चेन्नईको टिम सशक्त देखिन्छ । महेन्द्र सिंह धोनी अझै आइपिएल खेलिरहेकाले चेन्नईको खेल उनका विश्वभरका फ्यानका लागि विशेष हुने छ । त्यस्तै गत सिजन खराब खेलेको मुम्बईका लागि यो खेलको कप्तानी भने सूर्यकुमार यादवले गर्ने छन् । नियमित कप्तान हार्दिक पाण्डेय निलम्बनमा रहेकाले उनी यो खेलमा खेल्ने छैन ।
गत सिजनमा चेन्नई पाँचौं स्थानमा रहेको थियो भने मुम्बई पुछारमा रहेको थियो ।
यसअघि ५-५ पटक आइपिएलको उपाधि जितेका चेन्नई र मुम्बईबीचको खेल विशेष हुने गर्दछ । दुवैबीच अहिलेसम्म ३७ खेल भएका छन् । जसमा मुम्बईले २० र चेन्नईले १७ खेल जितेको छ ।