ससुराली हिंडेका शिवशंकरको हत्या
धनुषा- ससुराली हिंडेका एक युवकको अपहरणपछि विभत्स हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो ।
उनको शव गौशाला नगरपालिका–८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ भेटिएको छ । शव शुक्रबार साँझ फेला परे पनि उनको सनाखत भने शनिबार मात्र भएको थियो । शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको महोत्तरी प्रहरीको प्रारम्भिक अनुमान छ ।
हत्या भएको प्रारम्भिक अनुमान गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । शिवशंकरको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको जस्तो देखिन्छ । शिवशंकर बिहीबार दिउँसो श्रीमती सिर्जना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका ५ पशुपतिनगर बन्द्रका लागि निस्केका थिए । मृतकका भाइ राम महतोका अनुसार घरबाट एउटा मोटरसाइकलमा दाइ शिवशंकर, भाउजु र १० महिने छोरासहित महेन्द्रनगरसम्म पुगेका थिए ।
त्यहाँबाट श्रीमती सिर्जनाले माइतबाट दुई वटा मोटरसाइकल बोलाएकी थिइन् । एउटामा १० महिने छोरासहित सिर्जना चढेकी थिइन् भने अर्कोमा शिवशंकर । शिवशंकरको घरमा सबैले ससुराली पुगे भनेर ढुक्क थिए । तर, शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट मान्छे पहिचानका लागि शिवशंकरको घरबाट मान्छे बेलाउँदा त्यहाँ पुगेपछि मात्र छोरा ससुराली नपुग्दै हत्या भइसकेको परिवारले थाहा पाएका थिए ।
‘हिजो दिउँसो २ बजेतिर मात्र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट फोन गरेर आउन भन्यो । पुगेपछि दाइको शव देखायो। त्यसपछि मात्र थाहा पायौं ससुराली नपुग्दै दाइको हत्या भइसकेको रहेछ,’ मृतकका भाइ राम महतोले भने । केही दिनअघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको बताइएको छ । विवादपछि श्रीमती र बच्चासहित घर फर्किंदा शिवशंकर पुनः ससुराली जान मानेका थिएनन् । उनलाई श्रीमती सिर्जनाले नाना (हजुरबुबा) को मृत्यु भयो भनेर ससुराली जान बाध्य बनाएकी भाइ रामको भनाइ छ ।