Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्लाहीका १९ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

आइतबार, चैत १०, २०८१

जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकास्थित लालबन्दीचोक र नवलपुरचोकका२३ वटा स्वास्थ्य संस्था अनुगमन गरेका छन् ।

samridhi jewllers

अनुगमनको क्रममा ती संस्थाहरूमा देखिएका अनियमितताका कारण १९ अस्पताललाई तत्काल बन्द गर्ने निर्देशन जारी गरिएको हो । यी अस्पतालहरू सेवा सञ्चालन अनुमति पत्र बिना वा मापदण्ड विपरीत सेवा दिइरहेको पुष्टि भएपछि यो कडा कदम उठाइएको मुख्यमन्त्री सिंहले बताए।

मुख्यमन्त्री सिंहले राज्यमा स्वास्थ्य सेवा सञ्चालन गर्दा मापदण्डको पूर्ण पालना अनिवार्य भएको बताए । उनका अनुसार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाहीलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिने छैन। सिंहले भने, ‘जनताको स्वास्थ्यप्रति हामी कुनै प्रकारको सम्झौता गर्न सक्दैनौँ । मापदण्ड उल्लंघन गर्दै सेवा सञ्चालन गर्नु गम्भीर अपराध हो । त्यसैले यस्ता अस्पताललाई तुरुन्त बन्द गर्ने निर्देशन दिएका छौँ ।’

अनुगमनका क्रममा जम्मा दुई वटा स्वास्थ्य संस्थासँग मात्रै सेवा सञ्चालन अनुमति पत्र दुरुस्त रहेको पाइयो भने थप दुई वटाले नवीकरण गर्नुपर्ने अवस्था देखियो । यी स्वास्थ्य संस्थाहरूलाई अविलम्ब आवश्यक कागजात मिलाउन निर्देशन दिइएको छ ।मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवामा गुणस्तर सुधार र अनुशासन कायम गर्न आवश्यक नीति तथा मापदण्डलाई कडाइका साथ पालना गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि सरकार कटिबद्ध छ । हामीले जनताको स्वास्थ्यको रक्षा गर्न कुनै पनि अवरोध सहनेछैनौँ । अनियमित सेवा प्रदायकहरूलाई कारबाहीको भागीदार बनाइनेछ,’ सिंहले भने ।

मधेश सरकारले स्वास्थ्य सेवाका मापदण्ड पालन नगर्ने संस्थाहरूलाई कडा कारबाही गर्ने नीति अगाडि सारेको छ । यसअनुसार अनुगमन प्रक्रिया निरन्तर जारी रहने र अब आउने दिनहरूमा झन् बढी सतर्कता अपनाइने मुख्यमन्त्री सिंहले बताए । जनताले आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारलाई ध्यानमा राख्दै मुख्यमन्त्री सिंहले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित निकायलाई थप जिम्मेवारीको साथ अघि बढ्न आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार