राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न- विघटित संसद् त पुनर्स्थापना भयो भने राजसंस्था किन फर्किँदैन ?
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले षड्यन्त्रमूलक ढंगबाट चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्न संलग्न केही जीवित खलपात्रहरुलाई अहिले छटपटी देखिन थालेको टिप्पणी गरेका छन् ।
पछिल्लो समय राजावादीको सक्रियता बढेपछि गणतन्त्रवादी दलका नेतामा तरङ्ग देखिएपछि प्रवक्ता श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् ।
षड्यन्त्रमूलक ढंगबाट चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्न संलग्न केही जीवित खलपात्रहरुको छटपटी केही दिन यता हेरि नसक्नु छ उनले भनेका छन्, ‘०६३ वैशाख ११ गते राजा र आन्दोलनरत राजनीतिक दलको सहमतिमा प्रतिनिधिसभा पुनः स्थापित भयो, सहमति हुँदै गर्दाको आन्दोलनमा राजसंस्थाको अन्त्य गर्ने माग पनि थिएन । ०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणामा राजसंस्थाको निरन्तरता समेत स्वीकार गरिएको थियो ।’
उनले सहमति विपरीत राजसंस्थालाई पाखा लगाउने काम किन भयो भन्दै चार प्रश्न गरेका छन् ।
राजासँग भएको सहमति विपरीत राजसंस्थालाई पाखा लगाउने काम किन भयो ?, यस कुकर्ममा को को कुन उद्देश्यका लागि कसको इशारामा संलग्न भए ?, ०५९ मा शेरबहादुर देउवाले विघटन गरेको अर्थात् मरिसकेको प्रतिनिधिसभा ०६३ मा पुनः स्थापित हुन सक्यो भने षडयन्त्रपूर्ण रूपमा पाखा लगाइएको राजसंस्था पुनर्स्थापना हुन किन सक्दैन ? र जनताको तागतलाई हेप्ने र नजरअन्दाज गर्नेहरूलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ? भन्दै उनले प्रश्न गरेका छन् ।