Nic Ad Nic Ad
Nic Ad Nic Ad

पैदल यात्रीसँग पनि गैरकानुनी शुल्क अशुल्दै चद्रागिरी हिल्स

आइतबार, चैत १०, २०८१

काठमाडौं - व्यापारी चन्द्र ढकाल र अर्का ठुला व्यापारीक घरानाका मालिक मीन बहादुर गुरुङको संयुक्त लगानी रहेको कम्पनी ‘चन्द्रागिरी हिल्स’ले भालेश्वर मन्दिर दर्शन गर्न जाने पैदलयात्रुहरूसँग अनधिकृत रूपमा प्रति रकम असुली गरिरहेको तथ्य बाहिरिएको छ ।

samridhi jewllers

केवलकार सञ्चालनका लागि मात्र अनुमति पाएको चन्द्रागिरी हिल्सले पैदलयात्रुहरूसँग समेत प्रति व्यक्ति १०० रुपैयाँ शुल्क उठाउने गरेको पाइएको हो ।

चन्द्रागिरी हिल्स र चन्द्रागिरी नगरपालिकाकै मिलेमतोमा प्रशिद्ध भालेश्वर मन्दिरको दर्शन गर्न जाने दर्शनार्थीसँग १०० रुपैयाँ प्रवेश शुल्क उठईरहँदा समेत स्थानीय जनप्रतिनिधि, चन्द्रागिरी नगरपालिका र प्रहरी प्रशासनले समेत कुनै चासो नदेखाएको स्थानीयबासीको गुनासो छ ।

चन्द्रागिरी हिल्सले राष्ट्रिय वन क्षेत्रमा अनुमति विपरीत निजी सुरक्षागार्ड राखेर दैनिक लाखौं रुपैयाँ अशुल गरिरहेको छ । प्राप्त ९१२६ नम्बरको भौचर आधारमा हालसम्म करिब १०,००० जनासँग शुल्क असुल गरिसकेको देखिन्छ ।

विगत तीन महिना अघिदेखि सञ्चालनमा रहेको यो अवैध शुल्क संकलनबाट चन्द्रागिरी हिल्सले हालसम्म झण्डै ५० लाख रुपैयाँ उठाइसकेको छ ।

चन्द्रागिरी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष कृष्णप्रसाद खड्गीले भने चन्द्रागिरी हिल्सलाई पैदल यात्रीबाट शुल्क उठाउने अनुमति नदिएको बताए । तर, उनले पैदलयात्रुहरूबाट रकम असुलिएको कुरालाई अस्वीकार गर्न भने सकेनन् ।

खड्गीले भने, ‘त्यहाँ धेरै मान्छे हिडेर जाने, बाहिरको खाजाहरु लगेर खाने गरेको भएर त्यसो गरेको हो तर म अहिले त्याहिँ जाँदै छु, यो शुल्क असुली तत्काल रोक्न सूचना जारी गर्दैछौँ ।

तर, स्थानीयवासीहरूले भने चन्द्रागिरी हिल्सको यो कार्य पूर्ण रूपमा गैरकानुनी रहेको र यसमा नगरपालिकाकै सम्लग्नता रहेकोभन्दै चन्द्रागिरी हिल्सको बाध तोडेका छन् । 

स्थानीयले कडा विरोध जनाएपछि चन्द्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालको नेतृत्वमा कम्पनीको आपतकालीन बैठक समेत बसेको छ ।

तर उक्त बैठकमा विरोधलाई दबाउने र १०० रुपैयाँ शुल्क निरन्तर उठाइरहने निर्णय गरिएको हिल्स निकट स्रोतले जनाएको छ ।

चन्द्रागिरी हिल्सले प्रत्येक वर्ष अनिवार्य रूपमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, सो सुनुवाइ समेत औपचारिकतामै सिमित भएको स्थानीयहरूको गुनासो छ ।

सुनुवाइका लागि फोटो खिचाएर सामाजिक सञ्जालमा राख्ने बाहेक कुनै ठोस छलफल नगरिने उनीहरूको गुनासो छ ।

चन्द्रागिरी हिल्सका संचालकले ठूला भनिएका राजनीतिक दल एमाले, कांग्रेस र माओवादीका नेताहरूलाई भालेश्वरस्थित रिसोर्टमा लगेर महँगा भोजसहितका आतिथ्य सत्कार गर्ने गरेको स्थानीय बताउँछन् ।

जसका कारण पनि उनीहरुको गैरकानुनी काममा आवाज उठाउन त परै जावस् चुइक्क बोल्न समेत हिम्मत गर्दैनन्, एक स्थानीयले भने ।

सार्वजनिक वन अतिक्रमण गरेर करोडौंको व्यापार गरिरहेको चन्द्रागिरी हिल्सले अब पैदलयात्रुहरूसँग पनि गैरकानुनी रूपमा शुल्क असुल्न थालेपछि चन्द्र ढकाल समूहको तीब्र आलोचना भईरहेको छ । राज्य प्रशासन र राजनीतिक नेतृत्वकै मिलेमतोमा भइरहेको अईएमइ समूहको लुटलाई नियन्त्रण गर्न जनस्तरबाट नै दबाब दिनुपर्ने जानकारहरु बताउँछन् ।

चन्द्रागिरी हिल्स’प्रालिले भालेश्वर मन्दिर दर्शन गर्न जाने पैदलयात्रुहरूसँग अनधिकृत रूपमा रकम अशुल गरेको तथ्य बाहिरिएपछि चन्द्रागिरि नगरपालिकाले उक्त अवैध अशुली तत्काल रोक्न चन्द्रागिरी हिल्स प्रालिलाई पत्र काटेको छ ।

केवलकार सञ्चालनका लागि मात्र अनुमति पाएको चन्द्रागिरी हिल्सले पैदलयात्रुहरूसँग समेत प्रति व्यक्ति १०० रुपैयाँ शुल्क उठाउने गरेको तथ्य र प्रमाणका आधारमा नगरपालिकाले उक्त गैरकानुनी कार्य अविलम्ब रोक्न चन्द्रागिरी हिल्सलाई पत्र पठाएको हो ।

चन्द्रागिरि नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गीले काटेको चलानी नम्बर १२७२ नम्बरको पत्रमा भनिएको छ,- ‘प्रस्तुत विषयमा तहाँको कार्यालयबाट देश तथा विदेशवाट आउने पर्यटकहरुबाट प्रवेश शुल्क बापत रु १००/- लिने गरेको पाइएको र सो सम्वन्धमा अनियमितताका साथ रकम असुल गरेको भनी व्यापक जनगुनासो आएकोले विदेशी पाहुनाबाहेक नेपाल भित्रबाट आउने पर्यटकहरुसँग सो शुल्क लिने कार्य अविलम्व रोक्नुहुन अनुरोध छ ।’

चन्द्रागिरी हिल्स र चन्द्रागिरी नगरपालिकाकै मिलेमतोमा प्रशिद्ध भालेश्वर मन्दिरको दर्शन गर्न जाने दर्शनार्थीसँग विगत ३ महिनादेखि १०० रुपैयाँ प्रवेश शुल्क उठईरहँदा समेत स्थानीय जनप्रतिनिधि, चन्द्रागिरी नगरपालिका र प्रहरी प्रशासनले समेत कुनै चासो नदेखाएको भन्ने व्यापक गुनासो आएपछि नगरपालिकाले उक्त अवैध कार्य रोक्न तदारुकता देखाएको हो ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १९:४९
प्रतिक्रिया दिनुहोस्