नेभिगेशन
राजनीति

सत्तामै भएको कांग्रेसले सरकारलाई भन्यो : जनताका असन्तुष्टि सम्बोधन गर

काठमाडौँ —कांग्रेसले राजावादीको सडक आन्दोलन समीक्षा गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले राजावादीको आन्दोलनमा जानेहरू राजावादी मात्रै नभएर राज्यप्रति असन्तुष्ट बनेका नागरिक पनि रहेको उल्लेख गरेको हो । कांग्रेस नेताहरूले नागरिकको असन्तुष्टि सम्बोधन गर्न सरकार कठोर भएर अग्रसर हुनुपर्ने बताएका छन् ।

कांग्रेस बैठकको निर्णयमा संविधानको संरक्षण, संवर्द्धन र कार्यान्वयन मार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्नेमा दृढ विश्वास रहेको उल्लेख गरेको छ ।

‘नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो, कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिबद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ,’ कांग्रेसले भनेको छ,‘यही विश्वास साथ अघि बढ्नु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गर्दछ ।’

बैठकमा नेताहरूले राजावादीको आन्दोलनको दक्षिण छिमेकको हातसमेत रहेको कुरा बताएका थिए । कतिपयले यो आन्दोलनलाई निस्तेज बनाउन सत्तारुढ दलले पनि सडकबाट प्रतिवाद गर्नुपर्नसम्मको धारणा अघि सारेका थिए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू शेखर कोइराला, विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, बलबहादुर केसी, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले राजावादीको आन्दोलनमा एकथरी आस्थाका व्यक्ति र अर्कोथरी राज्यको कामकारबाहीबाट असन्तुष्ट नागरिकको सहभागिता रहेको धारणा राखेका थिए ।

‘अहिले नागरिक पंक्तिबाट देखिएको असन्तुष्टिलाई तत्काल सम्बोधन गरेर जानुपर्छ, किसानले मल खोजीरहेका बेला, मल नपाएको असन्तुष्टि छ । त्यस्तो असन्तुष्टि पनि सडकमा गएर पोखिएको छ । यसलाई सम्बोधन गर्दा मात्रै सरकारको गति अघि बढ्छ,’ महामन्त्री शर्माको भनाइ थियो ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले देशलाई ध्रुवीकरण, द्वन्द्व र विभाजनबाट बचाउन सरकारले देशको अवस्थालाई लिएर उत्पन्न सडकको कोलाहल भ्रष्टाचार, कुशासन, आर्थिक अराजकता, विधिविहीनता र दण्डहीनताको एकमुष्ट जनआक्रोशलाई भाषण र प्रतिक्रियाले मात्रै सम्बोधन गरेर नपुग्ने बताए । ‘सडकमा ओर्लेका जनता पनि नेपाली हुन् । यो सडक गतिविधिलाई वास्ता नगर्ने, सत्तातिर मात्र ध्यान दिने हो भने अफगानिस्तान, श्रीलंका, बगंलादेश, सिरियाका शासकहरूको नियतिबाट हामी अपवाद हुन सक्दैनौं,’ केसीले भने,‘देशलाई ध्रुवीकरण, द्वन्द्व र विभाजनबाट बचाउनु हाम्रो दायित्व हो ।’

कतिपय कांग्रेस नेताहरूबाट माओवादी नेतृत्वको गणतान्त्रिक मोर्चाले जेठ १५ मा निकाल्न लागेको प्रदर्शनमा सहभागी हुनुपर्ने धारणा आइरहेका बेला नेता केसीले त्यसको प्रतिवाद गर्दै कांग्रेसले त्यस्तो गल्ती पार्टीले गर्न नहुने बताएका थिए । ‘कांग्रेस दक्षिणपन्थी जागरणको धार र सत्ताभित्र र बाहिर (‘सत्ताभित्र’ र ‘सत्ताइतर’) का वामपन्थी धारको बीचमा छ । कांग्रेसले आफ्नो मध्यमार्गी सक्रियतालाई भुल्नु हुँदैन,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति