नेभिगेशन
पूर्वाधार

लमजुङ–मनाङ सडकमा पहिरो, पूर्णरुपमा अवरुद्ध

लमजुङ - लमजुङ–मनाङ सडकखण्डमा सुख्खा पहिरो खस्दा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार सोमबार दिउँसो करिब १२ बजेतिर मर्स्याङ्दी गाउँपालिका–४ अन्तर्गत अक्टोपस झरना नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

अचानक खसेको पहिरोले सडक पूरै थुनिँदा यातायात सेवा ठप्प भएको छ । सवारी चालक तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

डुम्रे–बेसीशहर–चामे सडक आयोजना कार्यालयका सब–इन्जिनियर सुमन अधिकारीका अनुसार पहिरोमा ठूला ढुङ्गाहरू खसेकाले सडक खुलाउन समय लाग्ने छ ।

‘पहाडबाट ठूला ढुङ्गाहरू खसेका छन् । हटाउन दुई वटा मेसिन (जेसिभी) मगाइएको छ,’ उनले भने, ‘ढुंगा ठूलो भएकाले कम्तीमा तीनदेखि चार घण्टासम्म सडक सञ्चालनमा आउन सक्ने देखिँदैन ।’ हाल पहिरो पन्छाउने तयारी भइरहेको अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप पूर्वाधार