अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु
रियाद – वासिङ्टन र किएभका प्रतिनिधिहरूबीच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अरबमा वार्ता सुरु गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तीन वर्षदेखि जारी युद्धको द्रुत अन्त्यका लागि जोड दिइरहेका छन् र रियादमा हुने वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेका छन्।
दुवै पक्षले अस्थायी युद्धविरामका लागि फरक–फरक योजना अघि सारेका छन्, तर सीमापार आक्रमण भने जारी छ।
द्वन्द्वरत पक्षबीच प्रत्यक्ष वार्ता गर्न सहमत नभएको अवस्थामा तेस्रो पक्षको मध्यस्थतामा दुई वा दुईभन्दा बढी पक्षबीच हुने छलफल र वार्ता (शटल डिप्लोमेसी) को माध्यमबाट सुरुमा द्वन्द्वरत पक्षका धारणा बुझ्ने र एउटा निर्णयका लागि आधार तय गरिने छ। यो छलफल र वार्तामा अहिले अमेरिकी प्रतिनिधि र रूसी प्रतिनिधिबीच कुराकानी भइरहेको रुसको समाचार एजेन्सी तासले जनाएको छ।
रक्षामन्त्री रुस्तम उमरोभको नेतृत्वमा रहेको युक्रेनी टोली र अमेरिकी सेनाबीच आइतबार अबेर राति भेटवार्ता सम्पन्न भएको थियो।
ट्रम्पका दूत स्टिभ विटकोफले कुनै पनि सम्झौताले पूर्ण युद्धविरामका लागि मार्ग प्रशस्त गर्ने बताए।
क्रेमलिनले भने द्रूत समाधानको अपेक्षालाई कम महत्व दिएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सरकारी टेलिभिजनसँग भने, ‘हामी यो बाटोको सुरुआतमा मात्र छौँ।’
उनले सम्भावित युद्धविराम कसरी कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा धेरै प्रश्नहरू रहेको बताए।