भारतका सांसदको तलब बढ्यो, यस्ता छन् उनीहरुले पाउने अन्य सुबिधा
काठमाडौँ - भारत सरकारले सांसदहरूको तलब २४ प्रतिशतले वृद्धि गरेको छ ।
संसदीय मामिला मन्त्रालयले सूचना जारी गर्दै सांसदहरुको तलब बढाएको जानकारी दिएको हो । जसअनुसार अब वर्तमान संघीय सांसदहरूले प्रति महिना एक लाख २४ हजार भारु तलब पाउने भएका छन् । यसअघि उनीहरुको तलब प्रति महिना एक लाख रुपैयाँ थियो । यो वृद्धि लागत मुद्रास्फीति सूचकांकको आधारमा गरिएको हो । बढेको तलब अप्रिल १, २०२३ देखि लागू हुने बताइएको छ ।
यसअघि २०१८ मा मोदी सरकारले सांसदहरूको तलब र भत्ता प्रत्येक पाँच वर्षमा समीक्षा गर्ने नियम बनाएको थियो । यो समीक्षा मुद्रास्फीति दरमा आधारित रहेको छ ।
त्यस्तै सांसदहरुले पाउने दैनिक भत्ता र पेन्सनमा पनि वृद्धि गरिएको छ । दैनिक भत्ता २ हजार रुपैयाँबाट बढाएर २ हजार ५०० रुपैयाँ पुर्याइएको छ । पूर्व सांसदहरूको पेन्सन प्रति महिना २५ हजार रुपैयाँबाट बढाएर ३१ हजार रुपैयाँ पुर्याइएको छ । पाँच वर्षभन्दा बढी समयदेखि सांसद रहेका सदस्यहरूलाई प्रत्येक वर्ष दिइने अतिरिक्त पेन्सन पनि प्रति महिना २००० रुपैयाँबाट बढाएर २५०० रुपैयाँ पुर्याइएको छ ।
भारतका संघीय सांसदहरुले पाउने अन्य सुविधामा प्रत्येक सांसदले एक वर्षमा ३४ वटा निःशुल्क हवाई यात्रा गर्न सक्छन् । सांसदले चाहेमा, उनले आफ्ना सहकर्मी वा कर्मचारीहरूलाई ८ वटा यात्रा हस्तान्तरण गर्न सक्छन् । उनीहरूले भारतीय रेलवेका सबै कक्षाहरूमा नि:शुल्क यात्राको सुविधा पाउँछन् । यो सुविधा संसद अधिवेशनको समयमा र पछि उपलब्ध छ । सडक यात्राको लागि प्रति किलोमिटर रु १६ सम्मको भत्ता दिइन्छ । सांसदहरूले आधिकारिक कामको लागि सडकबाट यात्रा गर्दा र हवाई वा रेल यात्रा सम्भव नभएमा यो लागू हुन्छ । संसद सत्रको समयमा दिल्लीमा सांसदहरूलाई यातायात सुविधा प्रदान गरिन्छ ।
अवकाशप्राप्त सांसदहरूले पनि केही हदसम्म रेल र हवाई यात्रामा छुट पाउँछन् ।
यसबाहेक, दिल्लीमा नि:शुल्क सरकारी आवास, सरकारी आवास र कार्यालयको लागि ५० हजार युनिट नि:शुल्क बिजुली र ४ लाख लिटर नि:शुल्क पानीको सुविधा छ । लोकसभा सांसदहरूले १ लाख ५० हजार नि:शुल्क कल सुबिधा पनि पाउँछन् र राज्यसभा सांसदहरूले ५० हजार नि:शुल्क कल पाउँछन् ।
सांसदहरूले सरकारी र निजी अस्पतालहरूमा सबै स्वास्थ्य सुविधा निःशुल्क पाउँछन् । त्यस्तै सिजीएचएस अस्पतालहरूमा नि:शुल्क उपचार हुन्छ । यदि कुनै रोगको उपचार देशमा सम्भव छैन भने, सरकारले विशेष अनुमतिमा विदेशमा उपचारको खर्च वहन गर्न सक्छ । सांसदहरूले पद छोडेपछि पनि सिजीएचएस अन्तर्गत चिकित्सा सुविधा पाइरहेका छन् । पूर्व सांसद र उनीहरूका श्रीमतीले पनि निःशुल्क उपचार सुविधा पाउँछन् ।
सांसदहरूले सरकारी सवारी साधन, अनुसन्धान तथा कर्मचारी सहायक र संसद क्यान्टिनमा सहुलियत दरमा खानाको सुविधा पनि पाउँछन् ।