Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओलीले गणतन्त्र उल्टाउछु भन्नेलाई सहयोग गरिरहेको भनि रास्वपाका नेता गणेश कार्कीका ७ तर्क

सोमबार, चैत ११, २०८१

काठमाडौं – सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको निर्णयले सामाजिक सञ्जालमा व्यापक आलोचना निम्त्याएको छ। लोडसेडिङको अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका घिसिङको हटाइएको घटनाले सरकारप्रति असन्तुष्टि बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिमाथि गम्भीर शंका व्यक्त गरेका छन्। कार्कीले ओलीका क्रियाकलापले गणतन्त्र उल्टाउछु भन्नेलाई बारम्बार सहयोग पुगिरहेको हुन सक्ने आशंका गरेका छन्।

samridhi jewllers

कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, "मलाई केपी ओलीप्रति शंका छ। गणतन्त्र उल्टाउछु भन्नेहरूका लागि केपी ओलीको क्रियाकलाप धेरै पटक सहयोगी बन्नु संयोग मात्रै होला त?" उनले यो शंका व्यक्त गर्न सातवटा आधार प्रस्तुत गरेका छन्, जसले ओलीको गणतन्त्रप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँछ।

कार्कीले त्यसका लागि सात आधारहरू प्रस्तुत गरेका छन् । 

जबजको व्याख्या: कार्कीका अनुसार ओलीले आफूलाई जनताको बहुदलीय जनवाद (जबज) को व्याख्याता ठान्छन्। तर, उनको व्याख्याले सामन्ती संस्कारको अवशेषका रूपमा राजा हुनु र नहुनुमा खासै फरक देख्दैन। कार्की यो दृष्टिकोणले ओलीको गणतन्त्रप्रतिको निष्ठामाथि शंका उत्पन्न गर्ने बताउँछन्।

२०६२/६३ को जनआन्दोलनमा बयलगाडाको प्रसंग: कार्कीले सम्झाउँछन् कि २०६२/६३ को जनआन्दोलनका बेला गणतन्त्रको माग उठिरहँदा ओलीले "बयलगाडाले अमेरिका पुग्नुजत्तिकै सम्भव हुने कुरा हो" भन्दै जनतालाई हतोत्साहित गर्ने प्रयास गरेका थिए। यो भनाइले ओलीको गणतन्त्रप्रतिको उत्साह कमजोर रहेको कार्कीको दाबी छ।

गणतन्त्रको ढिलो स्वीकार: कार्कीले उल्लेख गरेका छन् कि ओलीको पार्टी नेकपा (एमाले) ले नेपाली कांग्रेसले गणतन्त्र स्वीकार गरिसकेपछि मात्र औपचारिक रूपमा गणतन्त्र अंगीकार गरेको थियो। यो ढिलाइले ओली र उनको पार्टीको प्रतिबद्धतामाथि प्रश्न उठ्ने कार्कीको तर्क छ।

राजेन्द्र लिङदेनसँग चुनावी तालमेल: कार्कीले ओलीमाथि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनसँग चुनावी तालमेल गरेर उनलाई संसदमा ल्याउन सहयोग गरेको आरोप लगाएका छन्। यो कदमले राजावादी शक्तिलाई बल पुगेको उनको भनाइ छ।

कमल थापालाई समर्थन: त्यस्तै, कार्कीले ओलीले अर्का राजावादी नेता कमल थापालाई एमालेको चुनाव चिन्ह 'सूर्य' बाट निर्वाचन लड्न दिएर र आफ्नो उम्मेदवार नउठाएर थापालाई जित्न सहयोग गरेको दाबी गरेका छन्।

दुर्गा प्रसाईंको उदयमा सहयोग: पछिल्लो समय राजावादी बनेका व्यवसायी दुर्गा प्रसाईंलाई राजनीतिमा ल्याउने र हुर्काउने काममा ओलीको हात रहेको कार्कीको आरोप छ। यो पनि ओलीको राजावादीप्रति झुकावको संकेत भएको उनको ठहर छ।

कुलमानको हटाइ र ज्ञानेन्द्रको अभिव्यक्ति: कार्कीले हालै पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवस्थाविरुद्ध अभिव्यक्ति दिइरहेका बेला कुलमान घिसिङलाई हटाएर नागरिकलाई चिढ्याउने काम भएको बताएका छन्। यो घटनाले गणतन्त्र कमजोर बनाउने शक्तिलाई फाइदा पुग्न सक्ने उनको चिन्ता छ।

कुलमान घिसिङलाई हटाए पछि सिर्जना गरेको विवादबीच गणेश कार्कीले केपी ओलीका विगत र वर्तमानका गतिविधिलाई जोडेर गणतन्त्रको भविष्यमाथि प्रश्न उठाएका छन्। यी विचारहरू कार्कीका व्यक्तिगत धारणा भए पनि यसले नेपालको राजनीतिक वृत्तमा बहस सिर्जना गर्न सक्छ। सरकारको पछिल्लो कदम र ओलीको प्रभावलाई लिएर जनताको विश्वास र गणतन्त्रको स्थायित्वमाथि छलफल तीव्र बनेको छ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २३:१३
प्रतिक्रिया दिनुहोस्