इन्स्पेक्टर सन्तोषी महत मृत्यु प्रकरण : इन्स्पेक्टर जोशी र हबल्दार शाही पुर्पक्षका लागि थुनामा
पोखरा - सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन गर्न संलग्न रहेको अभियोगमा दुई जना पुर्पक्षका लागि थुनामा पुगेका छन् ।
महतलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशी र पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा कार्यरत हबल्दार रेशमबहादुर शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार जोशी र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
इन्स्पेक्टर महत फागुन १० गते हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद रहेको भन्दै उनकै भाइ विनोदले मृत भेटिएको भोलिपल्टै किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीलगत्तै इन्स्पेक्टर जोशी पक्राउ परेका थिए भने प्रहरी अनुसन्धानकै क्रममा चैत ६ गते हबल्दार शाही पनि पक्राउ परेका थिए ।
इन्स्पेक्टर महत र जोशीबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको परिवारले बताएको थियो । महतको विवाह उनले रोजेकै केटासँग गरिदिन परिवारमा सल्लाहसमेत थियो । तर, एकाएक आफू कार्यरत रहेको ठाउँमै महत मृत अवस्थामा भेटिएपछि किटानी जाहेरी परेको हो ।
‘परिवारले किटानी जाहेरी दिनेबित्तिकै हामीले इन्स्पेक्टर जोशीलाई पक्राउ गरी अनुसन्धान थालेका हौं । अनुसन्धानकै क्रममा महतसँगै लामापाटनमै कार्यरत हबल्दारलाईसमेत पक्राउ गरी सुक्ष्म अनुसन्धान गरेर ८ गते सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएका थियौं,’ कास्की प्रहरी प्रमुख श्यामनाथ ओलियाले भने, ‘मुलुकी अपराध संहिताको १८५ बमोजिम मागदाबी गर्दै सरकारी वकिलको कार्यालयले ९ गते अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।’
सोहीबमोजिम सोमबार अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको एसपी ओलियाले जानकारी दिए । आत्महत्या गर्न दुरुत्साहन दिने कार्यमा संलग्न हुनेलाई ५ वर्ष कैद र ५० हजारसम्म जरिवाना गर्ने व्यवस्था छ ।
न्यायाधीश ढकालको इजलाशले गरेको आदेशमा दुबै जना आत्महत्या गर्न दुरुत्साहन दिने कार्यक्रम संलग्न छैनन् भन्ने पुष्टि हुन नसकेकाले उनीहरुलाई पुर्पक्षका लागि पठाउँदा प्रहरी संगठनमा पनि सकारात्मक प्रभाव पर्ने उल्लेख गरेको छ ।
डीआईजी सिंह नेतृत्वमा छानबिन
घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एकेडेमीका डीआईजी लक्ष्मण सिंह नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ ।
महत सशस्त्र प्रहरी जवान र असई हुँदै इन्स्पेक्टर भएकी थिइन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ८ लाँगर्चेकी सन्तोषी महतले २०७२ सालमा सन्तोषीले सशस्त्र प्रहरी सिपाहीमा भर्ती भएर २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । यही साल इन्स्पेक्टरमा नाम निकालेर पोखरामै तालिम लिइरहेकी थिइन् । महतले परिवारलाई तालिम निकै उत्कृष्ट भएको भन्दै खुसी साटेकी थिइन् ।
सशस्त्रकै १६ बेसिकका इन्स्पेक्टर महत र जोशीबीच प्रेम सम्बन्ध रहेको अनि प्रेममा दरार आएपछि आत्महत्या गर्न बाध्य पारेको परिवारको आरोप थियो । प्रहरीले इन्स्पेक्टर सन्तोषी र विवेकको मोबाइल लिएर अनुसन्धान गरेको थियो । त्यहाँबाट उनीहरुबीचको सम्बन्ध र घटनाबारे पनि पुष्टि गर्न बल पुगेको प्रहरी स्रोतको भनाइ छ।