नेभिगेशन
राजनीति

कुलमान हटाउने विषयमा नेपाली कांग्रेसको ढोंग: भित्र समर्थन, बाहिर विरोध

कुलमान घिसिङलाई सरकारले हटाएको छ । उनको कार्यकाल सकिन अब जम्मा ५ महिना पनि बाँकी छैन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदमा उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ । यो निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । माओवादी अध्यक्ष प्रचण्डदेखि रास्वपाका सभापति रवि लामिछानेसम्मले सरकारको यो कदमको खुलेर आलोचना गरेका छन् ।  

कुलमान घिसिङ, जसले आफ्नो विज्ञता र क्षमताले नेपाललाई लोडसेडिङको अन्धकारबाट उज्यालोको युगमा ल्याए, उनलाई सरकारले हठात् हटाउने निर्णय गरेको छ । उनको कार्यकाल सकिन अझै ५ महिना बाँकी रहँदा यो निर्णय आएको हो । सामाजिक सञ्जालमा जनताले यो कदमको तीव्र विरोध गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले फेसबुकमा लेखे, “सरकारले यतिसम्म नराम्रो गर्छ भनेर विश्वास गर्न सकिएन । यो बहुमतको दम्भ हो । कुलमानमाथि अन्याय गरियो ।” 

उनले कुलमानको योगदानको प्रशंसा गर्दै यो निर्णयलाई जनविरोधी भनेका छन् । त्यस्तै, रास्वपाका सभापति रवि लामिछानेले फेसबुक लाइभमा बत्ती निभाएर मैनबत्ती बालेर सांकेतिक विरोध जनाए । रास्वपाकै गणेश कार्कीले लेखे, “आफ्नो जयजय गर्ने बाहेक अरूलाई सरकारले देखि सहन सक्दैन ।” यी सबै प्रतिक्रियाले सरकारको निर्णयप्रति जनताको आक्रोश स्पष्ट हुन्छ ।

तर, यहीँबाट नेपाली कांग्रेसको ढोंगी चरित्र बाहिर आउँछ । सरकारको प्रमुख साझेदार दल भएर पनि कांग्रेसका नेताहरू अहिले जनताको आक्रोश देखेपछि विरोधमा उत्रिएका छन् । यो केवल नाटक हो, किनकि उनीहरू नै यो निर्णयको हिस्सेदार हुन् ।

कांग्रेसको दोहोरो चरित्र: भित्र समर्थन, बाहिर विरोध

नेपाली कांग्रेस सरकारको संयन्त्रमा छ । सरकार चलाउने संयन्त्रमा कांग्रेसका ४ जना सदस्य छन् । कांग्रेसकै तर्फबाट मन्त्री बनेका दिपक खड्काले पटकपटक कुलमानलाई हटाउने तयारी गरेको कुरा कसैबाट लुकेको छैन । यो निर्णयमा कांग्रेसको सहमति र संलग्नता स्पष्ट छ । तर, जब सामाजिक सञ्जालमा जनताको आक्रोश बढ्यो, तब कांग्रेसका नेताहरूले एकाएक विरोधको स्वर चर्काउन थाले । यो ढोंग होइन भने के हो ?

कांग्रेसका महामन्त्री गगन थापाले भने, “सरकारले कुलमानलाई हटाएर गलत गर्‍यो । अहिले जनतामा असन्तुष्टि भएका बेला यो गर्नुहुन्थेन ।”यो सुन्दा लाग्छ, उनी सरकारबाट बाहिर बसेर बोलिरहेका छन् । तर, उनी स्वयं सरकारको संयन्त्रमा बसेका व्यक्ति हुन् । उनको यो अभिव्यक्ति केवल जनताको आँखामा छारो हाल्ने नौटंकी हो । यदि उनले साँच्चै कुलमानको पक्षमा उभिन चाहेको भए, सरकारभित्रै यो निर्णय रोक्न सक्थे । तर, उनले त्यसो गरेनन् । बरु, निर्णय भएपछि जनताको आक्रोश देखेर विरोधको नाटक गर्न थाले ।

त्यस्तै, कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले लेखे, “हामीले कुलमानलाई नहटाउन सजग गराएका थियौं । हाम्रो सहमति छैन ।” यो पनि शब्दको खेल मात्र हो । यदि सहमति थिएन भने सरकारको संयन्त्रमा बसेर किन चुप लागे ? किन यो निर्णय हुन दिइयो ? यो त केवल जनतालाई भ्रममा पार्ने बहाना हो । 

कांग्रेसका नेता डा. शेखर कोइरालाले त झन् ठाडो आरोप लगाए, “यो निर्णय सरकारको कुशासनको अर्को कडी हो ।” तर, उनीहरू नै यो कुशासनको हिस्सा भएर बसेका छन् । यो निर्णयमा उनीहरूको पनि हात छ, र पछि जनताको आक्रोश देखेपछि विरोध गर्नु भनेको दोहोरो चरित्रको पराकाष्ठा हो ।

नेपाली कांग्रेस अहिले पानी माथिको ओभानो बन्न खोजिरहेको छ । भित्र सरकारको निर्णयमा सहमति जनाएर बाहिर बिरोध भए पछि त्यसको जिम्मेवारी लिदैनौँ भन्दै विरोध गरे जस्तो गरि जनतालाई झुक्याउन खोजिरहेका छन् । यो उनीहरूको अवसरवादी र स्वार्थी प्रवृत्तिको नमुना हो । सरकारमा बसेर निर्णय गर्नु, अनि बाहिर आएर “हामीले त भनेका थियौं, हाम्रो सहमति थिएन” भन्नु भनेको जनताको बुद्धिमाथि खेलवाड गर्नु हो । 

यदि कांग्रेस साँच्चै कुलमानको पक्षमा थियो भने, यो निर्णय किन रोकिएन ? किन दिपक खड्काले कुलमानलाई हटाउने प्रयास गर्दा कांग्रेसले उनलाई रोकेन ? यो सबै प्रश्नको जवाफ एउटै छ—कांग्रेसले भित्रभित्रै यो निर्णयलाई समर्थन गरेको थियो, तर जनताको आक्रोश देखेपछि बाहिर विरोधको नाटक गरिरहेको छ ।

यो ढोंगले कांग्रेसको विश्वासनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । उनीहरूले सरकारको हिस्सा भएर पनि आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्नु भनेको जनताप्रतिको बेइमानी हो । 

कुलमान घिसिङको योगदानलाई सबैले देखेका छन् । उनले नेपाललाई उज्यालो बनाए । तर, कांग्रेसले उनको योगदानको कदर गर्नुको साटो, सरकारको निर्णयमा साथ दियो र अहिले जनताको आँखामा राम्रो देखिन विरोधको स्वाङ गरिरहेको छ । यो राजनीतिक स्वार्थको पराकाष्ठा हो । कांग्रेसका नेताहरूले यो नाटक बन्द गर्नुपर्छ । 

कुलमान घिसिङलाई हटाउने निर्णयले जनतामा ठूलो असन्तुष्टि पैदा गरेको छ । यो निर्णयको विरोध गर्नु स्वाभाविक छ । तर, नेपाली कांग्रेसको यो ढोंग र दोहोरो चरित्रले यो मुद्दालाई थप जटिल बनाएको छ । सरकारको प्रमुख घटक भएर निर्णयमा संलग्न हुनु, अनि बाहिर आएर विरोध गर्नु भनेको जनताप्रतिको ठाडो बेइमानी हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति