Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिचौलियाको संरक्षणको श्रृंखला अन्तर्गत कुलमानमाथि कारवाही गरियो- रास्वपा

मंगलबार, चैत १२, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले कुलमान घिसिङलाई हटाएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

samridhi jewllers

रास्वपाले विज्ञप्ति जारी गर्दै विद्युत प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरुको संरक्षणको श्रृंखला अन्तर्गत नै घिसिङमाथि कारवाही गरिएको रास्वपाको निष्कर्ष रहेको उल्लेख गरेको छ । 

रास्वपाले भनेको छ-    

दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई अँध्यारोको सकसबाट मुक्त गर्न मुख्य भूमिका निभाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बदनियतपूर्वक बर्खास्त गरेको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण भएको छ । 

विद्युत प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरुको संरक्षणको श्रृंखला अन्तर्गत नै घिसिङमाथि कारवाही गरिएको रास्वपाको निष्कर्ष छ । संविधानले नचिन्ने दुई दलीय संयन्त्रसमेतको सम्मतिमा गरिएका यस्ता जनविरोधी कदमहरुबाट देशमा केही गरौं भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।

आज नेपाली जनतामा व्याप्त रोष र नैराश्यताका कारक प्रमुख दलहरु र तिनका कहिल्यै नफेरिने पात्रहरुको संलग्नतामा सञ्चालन हुँदै आएको चरम कुशासनको अविछिन्नता नै हो । दह्रो र गहिरा सुधार होइन निहित स्वार्थसमूहको नियन्त्रणमा लगिंदै गरेको अर्थतन्त्र, बेरोजगारी र शैथिल्य; दलीयकरण र शासकीय अक्षमताका कारण थलिएको सार्वजनिक सेवा, शिक्षा र स्वास्थ्य क्षेत्रका  बेथिति; एकातिर भ्रष्टाचार र दोहनको फैलँदो जालो र अर्कोतिर राज्यका सबै अंगहरुमा गरिएको कब्जाबाट सिर्जित दण्डहीनता; नयाँ दल, अभियान र अभियन्ताहरुमाथि राज्यका सबै अंगहरुको अस्त्रीकरण गर्दै साँधिएको राजनीतिक प्रतिशोध, निषेध एवं झुठा मुद्दाको अनैतिक प्रहार; गिर्दो अन्तर्राष्ट्रिय साख, निर्लज्ज एवं असफल कुटनीति र लगभग दुई-तिहाइ समर्थन प्राप्त सरकार भ्रष्ट, अकर्मण्य, निरीह, निष्प्रभावी, अनुत्तरदायी र  प्रतिशोध केन्द्रित रहेको प्रमाणित भएसँगै वर्तमान सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको छ ।

यसर्थ भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ ।    

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार