आन्दोलनमा होमियो राप्रपा, चैत २६ गते काठमाडौंमा प्रदर्शन
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
मंगलबार काठमाडौंको एक प्यालेसमा बसेको आन्दोलन मूल समितिको बैठकले यस्तो निर्णय लिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
उनका अनुसार, राप्रपा आजैबाट आन्दोलनमा होमिएको छ ।
त्यस्तै, विसं २०८२ साल वैशाख ७ गतेबाट निरन्तर रुपमा राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय पनि राप्रपाले गरेको छ ।
‘२६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रदर्शन तथा सभाको आयोजना गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रित कार्यक्रम अघि बढाउने निर्णय भएको छ,’ लिङ्देनले भने ।
यस्तै, राजसंस्था हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा सबैले गर्ने आन्दोलनमा राप्रपाले समर्थन गर्ने पनि उनले बताए ।
‘राजसंस्था हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जजसले आन्दोलन गरे पनि त्यो शान्तिपूर्ण हुुनुपर्यो त्यसमा समर्थन गर्ने,’ लिङ्देनले भने ।
आन्दोलनका लागि सहकार्य गर्न ढोका खुला गरिएको उनले जानकारी गराए ।
‘आजबाट राप्रपा पूर्ण रुपमा आन्दोलनमा होमियो,’ लिङ्देनले भने ।
उनका अनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामा घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गर्ने निर्णय पनि भएको छ ।