सिरहाका एसपी पण्डित किन तानिए हेडक्वार्टर ?
काठमाडौं - सिरहाका प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितलाई प्रहरी हेडक्वार्टर, काठमाडौं तानिएको छ । उनलाई हेडक्वार्टर झिकाएर सिरहामा भने पोखरा गणमा कार्यरत एसपी अनन्तराम शर्मालाई पठाइएको छ ।
एसपी पण्डितलाई किन हेडक्वार्टर तानिएको भन्नेबारे प्रहरीले स्पष्ट खुलाएको छैन् ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध उजुरी परेपछि केही बुझ्नुपर्ने भएकाले झिकाइएको हो । यसअघि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको थियो । महायज्ञ गर्न भन्दै एक दलित परिवारलाई हटाएको विषय सार्वजनिक भएपछि उनलाई गृह मन्त्रालय तानिएको थियो ।
प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले भने उनलाई हेडक्वार्टर काज सरुवा गरिएको पुष्टि गर्दै किन तानिएको भन्ने विषयमा खुलाउन चाहेनन् । ‘उहाँलाई काज सरुवा गरिएको हो । यो विषय ठूलो होइन र तपाईंहरूलाई यस्तो विषयमा किन चासो ? के ठूलो कुरा भयो र’, आचार्यले भने ।