गृहमन्त्री भने- तत्कालीन राजाले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनु भएको छैन
काठमाडौँ- गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्त पछि सरकारले देशमा धेरै काम गरे पनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् ।
आज भक्तपुरको दुधपाटीस्थित जुद्ध वारुण यन्त्र कार्यालयको नयाँ कार्यालय भवनका उद्घाटन गर्दै उनले लोकतन्त्र प्राप्त पछि सरकारले केही गर्न सकेन, देशमा केही भएन भन्ने गरी भाष्य निर्माण गर्नु गलत भएको बताएका हुन् ।
गृहमन्त्री लेखकले भने, “तत्कालीन राजाले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनु भएको छैन भन्ने मलाई विश्वास छ । प्रजातन्त्र समाप्त पारेर राज्य सत्ता एकलौटी हातमा लिएपछि सबभन्दा पहिला नेपाली सेना र प्रहरीले सञ्चार माध्यममा छापा मारेर समाचारमा रोक लगाएको, प्रकाशित पत्रिकाहरू बन्द गराउनेदेखि जफत गरेर लगेको, पत्रकारलाई धम्क्याएको, जनताको आवाज बन्द गराएको सिङ्गो प्रेस जगत र जनताले बिर्सेका छैनन्, त्यसैले यो व्यवस्था चाहिँदैन भनेर नेपाली जनताले भन्नु सक्नुहुन्न ।”
गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन भन्दै उनले भने, “केही हुँदै नभएको, केही गर्दै नगरेको होइन, धरै काम भएका छन् तर जनताले सोचे जस्तो छिटो काम नभएको पक्कै हो । मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्, त्यसलाई हल गर्दै अगाडि जाने व्यवस्था लोकतन्त्र मात्रै हो ।”
विभिन्न चुनौती र समस्याका बाबजुद धेरै काम भएको बताउँदै उनले एकतन्त्रीय व्यवस्थाले जनताको आवाज, सञ्चारको आवाज कुल्चिन्छ र लोकतन्त्रले जनता र सञ्जालको आवाजलाई सुनेर समृद्धिको यात्रामा अगाडि बढ्ने बताए ।
गृहमन्त्री लेखकले भने, “जनताको स्वतन्त्रता, भावना, आवाज बन्द गर्ने निरंकशताको शासन हामीले व्यहोरी सकेका छौँ, जनताले बलिदान दिएर ल्याएको लोकतन्त्रलाई बिर्सिएर फेरी त्यही व्यवस्था चाहियो भनेर जनताले भन्छन् भनेर विश्वास गर्न सकिन्न, यो त केही तत्त्वहरूले भ्रम फैलाइरुहेका मात्रै हुन्, यो भूमि पनि केही दिनमै सकिन्छ ।”
यस्ता भ्रमको खेतीले जनता अब खोला, खोल्छीमा अल्झिन्छन् भन्ने आफूलाई नलागेको बताउँदै उनले लोकतन्त्र भए मात्रै स्वच्छ पत्रकारिता, स्वतन्त्रता, सञ्चार जगत, जनताको आवाज रहन्छ भन्ने स१चार जगतले पनि बुझेको बताए ।
जुनसुकै विपत्तिमा पनि प्रतिकार्यका लागि २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिँदै उनले जुद्ध वारुण यन्त्र भक्तपुर गृह मन्त्रालय अन्तर्गत नै रहेकाले मन्त्रालयले जग्गा सम्झौताको म्याद थप गर्न मात्रै नभई दमकलकै नाममा जग्गा ल्याउन लाग्ने उनले बताए ।