राष्ट्रिय सभाको बैठक पनि स्थगित
काठमाडौ - राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रश्न उठाउँदै विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै बैठकमा निरन्तर अवरोध गरेका छन् ।
यही कारण दिउँसो सवा १ बजे बोलाइएको बैठक कार्यसूचीमा पर्न सकेको थिएन । आधा घण्टाका लागि स्थगित बैठक बस्न सकेन । दोस्रो बैठक दिउँसो पौने ४ बजे बस्ने तय भएको थियो । तर, यो बैठकमा पनि विपक्षीले अवरोध कायमै राखे ।
त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अर्को बैठक बिहीबार मध्यान्ह सवा १२ बजे बस्ने गरी बैठक स्थगित गरे ।
बुधबारको प्रतिनिधिसभा बैठक पनि विपक्षी दलको अवरोधका कारण चल्न सकेन ।
दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरे ।