नेभिगेशन
राजनीति

कुलमान हटाएपछि २०६६ सालको कान्तिपुरको एउटा समाचार किन भाइरल हुँदैछ ?

कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वबाट हटाइएको छ । उनी न्याय खोज्दै अदालत पुगेका छन् । कुलमानका बिषयमा मानिसहरुको चासो छ र धेरै मानिसहरू स्वस्फुर्तरूपमा सडकमा प्रदर्शन गरिरहेका छन् । राजनीतिक दलहरु पनि कुलमानलाई हटाइनुमा सरकारको गैरजिम्मेवारी र सर्वसत्तावादी चरित्र हो भन्नेमा एकमत देखिन्छन् । यसैले आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै चल्न सकेनन् ।

यी सबै बिषय भइरहदा अहिले २०६६ सालमा कान्तिपुरले प्रकाशित गरेको समाचार सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

२०६६ सालको उक्त समाचारमा नेपाल विद्युत प्राधिकरणका गाडीहरू प्रभावशाली नेताहरूले अनधिकृत रूपमा दुरुपयोग गरेको घटना उल्लेख छ । समाचारअनुसार, एमाले नेता केपी शर्मा ओलीले मध्यमस्र्याङदी जलविद्युत आयोजनाको गाडी प्रयोग गरिरहेका थिए । प्राधिकरणका कर्मचारीले मर्मत र इन्धन खर्चको तीन लाख रुपैयाँको बिलवापतको रकम लिन आएको उक्त गाडी नियन्त्रणमा लिए । गाडी समातिएपछि ओलीले आफ्नो प्रभाव प्रयोग गरी प्रहरीमार्फत फिर्ता लिने प्रयास गरे पनि कर्मचारीको प्रतिरोधका कारण सफल भएन भनेर समाचारमा लेखिएको छ । 

त्यही बेला, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चमेलिया जलविद्युत आयोजनाको गाडी प्रयोग गरिरहेका थिए । ओलीको गाडी समातिएको हल्ला सुनेपछि देउवाको गाडी तेल भर्न प्राधिकरण आइपुगेको थियो, तर समातिने डरले तुरुन्तै "टाप" कस्यो । यो घटनाले "ओलीको समातियो, देउवाको भाग्यो" भन्ने रोचक शीर्षक जन्मायो, जसले अहिले फेरि सामाजिक सञ्जालमा भाइरल हुने मौका पाएको छ ।

समाचारमा भनिएको छ, ओलीले चढेको गाडी नेपालकै हालसम्मको सर्वाधिक महँगो जलविद्युत् आयोजना मध्यमस्र्याङदीको हो । ओलीले संस्थानको नम्बर प्लेटलाई प्राइभेट बनाएर बा५च ४७१८ बनाएका हुन् । मर्मत र तेल खर्चबापत तीन लाख असुल्न आएको गाडीलाई नियन्त्रणमा लिएपछि ओलीले कर्मचारीलाई माओवादी भन्न समेत बाँकी राखेनन् । 

उक्त समयमा प्राधिकरण १२ अर्ब रुपैयाँ घाटामा थियो र उपभोक्ताले दैनिक १२ घण्टा लोडसेडिङको मार खेपिरहेका थिए । यस्तो संकटपूर्ण अवस्थामा पनि प्राधिकरणका उच्च अधिकारीहरूले नेताहरूलाई रिझाउन ३० वटा महँगा गाडी अनधिकृत रूपमा उपलब्ध गराएका थिए । ओली र देउवाबाहेक अन्य प्रभावशाली नेताहरूले पनि प्राधिकरणका गाडी दुरुपयोग गरेको समाचारमा उल्लेख छ । यी गाडीको इन्धन, मर्मत, र अन्य खर्चमा प्राधिकरणले करोडौं रुपैयाँ खर्च गरिरहेको थियो, जसले संस्थालाई थप कमजोर बनायो ।

कुलमान हटेपछि किन सम्झना ?

कुलमान घिसिङ २०७३ मा प्राधिकरणको कार्यकारी निर्देशक बनेपछि लोडसेडिङ हटाउन र संस्थालाई नाफामा लैजान सफल भएका थिए । उनको कार्यकालमा प्राधिकरणको व्यवस्थापनमा सुधार आएको र राजनीतिक हस्तक्षेप कम भएको धेरैको बुझाइ छ । उनको कार्यकालभरमा प्राधिकरणको सम्पति दुरूपयोग भएको कतै सुनिएन । 

तर, उनको बहिर्गमनपछि प्राधिकरणको पुरानो अव्यवस्था र नेताहरूको दुरुपयोगका कथाहरू फेरि चर्चामा आएका छन् । र पुन: तिनै प्रवृति दोहोरिने हो कि भन्ने चिन्ता थपिएको छ । त्यसबाहेक सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यस्तै दुरूपयोग गर्न नपाएर कुलमान माथि सरकार खनिएको भन्ने प्रतिक्रिया दिएका छन् ।

रोचक के छ भने त्यो समाचारको शिर्षकमा उल्लेख भएका केपी ओली र शेरबहादुर देउवाकै गठबन्धनमा सरकार सञ्चालन भइरहेको छ ।

समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति