शान्ति प्रक्रिया सफल पारौं, मलाई श्रेय चाहिएन : प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जवाफदेहीता निगरानी समिति र द्वन्द्धपीडित संगठनहरुद्वारा आज आयोजित संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका यसअघिका कामहरु किन सफल भएनन् भन्ने समीक्षा गरी आगामी दिनका कामलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।
उनले पीडितलाई न्याय र परिपूरण दिन सरकार सक्रिय रहने विश्वास दिलाउँदै विगतमा भएको अनावश्यक र अनुचित हिंसालाई अब उप्रान्त यस्तो नहुने सुनिश्चिता गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा लान संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसद्बाट सहमतिमा पारित गराइएको स्मरण गरे ।
प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्याएको श्रेय पाउने आश त्यागेर सफल पार्नेतर्फ मात्र केन्द्रित हुन आह्वान गरेका छन् । आफूलाई श्रेयको भोक नभएको भन्दै उनले पीडितको घाउमा मल्हम लगाउनु मुख्य काम भएको बताए ।संक्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैंले सुरु गरेका छौं । हामी आफैंले अगाडि बढाएका छौं। कसले श्रेय लिने हो भन्ने कुरा छोडिदिउँ ।’
उनले अगाडि भने, ‘म यसलाई सफल मात्रै पार्न चाहन्छु । श्रेय मबाहेक अरु सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । श्रेय चाहिएन । सफल पारौं यसलाई ।’ संसदबाट सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी कानुन बनेपछि ती आयोगका पदाधिकारी नियुक्तिका लागि यसअघि गठित सिफारिस समितिमा सहमति नभई त्यस समितिको अवधि सकिएपछि सरकारले प्रमुख दलको परामर्श फेरि अर्काे सिफारिस समिति गठन गरेको छ ।
‘सबै नेपाली जनता द्वन्द्वका घाउलाई बिर्सन चाहन्छन् । हिंसाको बाटो हामीले छोडिसकेका छौँ । अब उप्रान्त त्यस्ता काम नहोउन्, पीडितलाई न्याय दिन सकौं । १८ वर्षसम्म शान्ति प्रक्रियाले पूर्णता प्राप्त नगर्दा हामीलाई अन्तर्राष्ट्रियस्तरमा मुख देखाउन लाज लाग्ने स्थिति भएको छ, त्यसकारण अब हामी काम पूरा गर्न गम्भीर हुनुपर्छ । गम्भीर मानव अधिकारको उल्लंघन गर्नेलाई कारवाही हुन्छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘जनयुद्धलाई अहिले पनि उत्सव मनाउने वा सार्वजनिक बिदा दिएर मनाउन खोज्ने कुराहरु गरिरहन आवश्यक छैन । यस्ता कुराहरुले पीडितलाई झन पीडित बनाउन सक्छ ।’
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई टुङ्गोमा लान अन्तर्राष्ट्रिय समुदायको सहयोग र साथ प्राप्त भइरहनु पर्नेमा जोड दिँदै यस प्रक्रियालाई मौलिक तरिकाले समाधान निकाल्न नेपालले प्रयास गरिरहेको बताए ।
संक्रमणकालीन न्यायसम्मबन्धी काम र सरकारको कुनै निकायको कर्मचारी हटाएको विषय तुलनायोग्य नभएकाले त्यस्ता अनावश्यक विषयलाई जोडेर प्रस्तुत नगर्न आग्रह उनले गरे । प्रधानमन्त्री ओलीले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेकाले मुलुक पछाडि फर्कन नसक्ने पनि स्पष्ट गरे ।